लन्डन । बेलायतको दक्षिण-पश्चिम क्षेत्र रेडिङ शहरमा बसोबास गर्ने गुरुङ जातिहरूको साझा संस्था रेडिङ तमु समाजले बर्षेनि आयोजना गर्ने समर भेला गत शनिबार सम्पन्न भएको छ । झन्डै ५०० आजीवन सदस्यका परिवारका सदस्यको उपस्थितिमा भव्यताका साथ कार्यक्रम भएको हो ।
पहिलो चरणमा खेलप्रेमी युवा तथा भेट्रेनका लागि आयोजना गरिएको फुटबल प्रतियोगिताले थप आकर्षण र मनोरञ्जन थपेको थियो । लगत्तै बीबीक्यू र सुपथ मूल्यमा भोजन गरिएको थियो । बीबीक्यूको संयोजन आजीवन तथा कार्यसमिति सदस्य खेमराज गुरुङ तथा पेय पदार्थको संयोजन आजीवन तथा कार्य समिति सदस्य कविन गुरुङ र साथीहरूले गरेका थिए ।
मिठो टिपनटापन र अचारको व्यवस्था आमा समूहले गरेका थिए । मासु, दालभात र तरकारीको व्यवस्था आजीवन तथा कार्यसमिति सदस्य तुलबहादुर गुरुङ र उनको टिमले गरे ।
महासचिव याम गुरुङले सञ्चालन गरेको तेस्रो चरणको औपचारिक कार्यक्रम अध्यक्ष रुद्रराज गुरुङ, आमा समूहका अध्यक्ष विमला गुरुङ र संस्थापक अध्यक्ष प्रेम गुरुङले सामूहिक रूपमा पानसमा बत्ती बालेर सुरुआत गरे । त्यसपछि नयाँ आजीवन सदस्यहरूलाई ब्याज वितरणसहित स्वागत तथा सम्मान गरियो ।
नेपालबाट आएका अतिथि कलाकारहरू उषा गुरुङ , तिलक गुरुङ र मनमाया वाइबालाई तमु परम्परा अनुसार पगरी, पछ्यौरी, फूलगुच्छा र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
सोही अवसरमा समाजका तर्फबाट समाजलाई दिलो ज्यान दिएर निस्वार्थ भावनाले आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने दुई जनालाई पनि सम्मान गरिएको थियो । महिलातर्फ भूतपूर्व अध्यक्षकी श्रीमती अमिद्रा गुरुङ र पुरुषतर्फ आजीवन सदस्य खेम गुरुङलाई RTS Commendation Award 2024 ले विशेष सम्मान गरिएको हो ।
यसैगरी, फुटबलका विजेता तथा उपविजेतालाई आकर्षक पुरस्कार, मेडल र कप वितरण गरिएको थियो । पुरस्कार प्रायोजकद्वय आजीवन सदस्य ओम गुरुङ र सल्लाहकार परशु गुरुङले नै प्रदान गरेका थिए ।
यस वर्षको समर बीबीक्यू पार्टीमा उपस्थितलाई मनोरञ्जन र कार्यक्रमलाई थप आकर्षण बनाउन भाग्योदय चिट्ठा राफल ड्र पनि राखिएको थियो । जसको पहिलो पुरस्कार आधा तोलाको सुनको औँठी राखिएको थियो । यसको प्रायोजन रेडिङ तमु समाज आमा समूहले गरेका थिए । अन्य आकर्षक पुरस्कार सदस्यहरूले प्रायोजन गरे ।
चौथो तथा अन्तिम चरणमा प्रतिभावान् स्थानीय कलाकार तथा नानीबाबुहरूको नृत्य प्रस्तुत गरिएको थियो । रेडिङ तमु समाजको निमन्त्रणलाई स्वीकार गरेका आएका चर्चित कलाकार उषा गुरुङ, तिलक गुरुङ र मनमाया वाइबाले सबैलाई भरपुर मनोरज्जन दिलाएका थिए ।
कार्यक्रमको पूरा संयोजक समाजका उपाध्यक्ष सानमाया गुरुङले गरेकी थिइन् । कार्य समितिका पदाधिकारी भूतपूर्व अध्यक्ष, सल्लाकार, आमा समूहका पदाधिकारीलगायत आजीवन तथा साधारण सदस्यले आर्थिक, भौतिक तथा सरसल्लाह दिएर सहयोग गरेका थिए ।