लन्डन । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेलायतका नवनियुक्त प्रधानमन्त्री किअर स्टार्मरलाई बधाई दिएका छन् । शुक्रबार बेलुकी प्रधानमन्त्री प्रचण्डले बधाई ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले बेलायतका नवनियुक्त प्रधानमन्त्री किअर स्टार्मरको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त अधिराज्यका नवनिर्वाचित प्रधानमन्त्री महामहिम Sir Keir Starmer लाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। साथै, महामहिम Sir Keir Starmer को कार्यकालमा नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास पनि सम्माननीय प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको छ,' प्रचण्डको बधाई सन्देशमा उल्लेख छ ।
लेबर पार्टीका नेता स्टार्मर शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार सम्पन्न आमनिर्वाचनमा भारी बहुमत पाएको लेबर पार्टी स्टार्मर प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको पार्टीले ४ सय १२ सीट प्राप्त गर्यो । कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार बकिङ्घम प्यालेसमा राजा चार्ल्ससमक्ष आफ्नो राजीनामा बुझाएपछि राजाले स्टार्मरलाई प्रधानमन्त्री नियुक्त गर्दै अर्को सरकार बनाउन आमन्त्रित गरेका थिए ।
प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टार्मर टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गरे । निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६ सय ५० सांसद निर्वाचित भएका छन् ।
सरकार बनाउन ३ सय २६ सिट आवश्यक हुन्छ । कन्जरभेटिभले १ सय २१ सिटमात्र जित्यो । लिबरल डेमोक्र्याटले ७१ सिट जितेको छ । स्कटिस नेशनल पार्टीले ९ सिटमा मात्र जित्यो भने सिन फेनले ७, इन्डिपेन्डेन्ट ६, डेमोक्र्याटिक यूनिअनिस्ट पार्टी ५, रिफर्म यूके ४ सिट, प्लेड क्यामरु ४, ग्रीन्सले २ र अन्यले १९ सिट प्राप्त गरे ।