लन्डन । गोर्खा वेलफेयर प्रोपर्टी लिमिटेडको फान्बोरोस्थित गोर्खा भवनमा वार्षिक साधरणसभा ३० जून २०२४ का दिन सम्पन्न भएको छ । लिड डाईरेक्टर ले. रि. मुक्तिजङ्ग गुरूङको अध्यक्षतामा भएको कार्यकममा ५० जना जति लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
लिड डाईरेक्टर गुरुङले कम्पनीले भोग्नु परेका समस्याहरु, त्यसका समाधनका बारे विचार प्रस्तुत गरेका थिए । विशेष कर्पोरेट ट्याक्स, शेयरको एकरुपता र भवन इन्सुरेन्सका बारे बोलेका थिए । कम्पनीका कोषाध्यक्ष टेकबहादुर थापाले आयब्यय विवरण प्रस्तुत गरेका थिए । डाईरेक्टर प्रकाश गुरुङले भवनको दैनिक संचालन, भाडा दर, गोर्खा भवनको इतिहास र आवश्यकताको बारे बोलेका थिए ।
अर्का डाईरेक्टर रामधन राईले भवन संचालनमा कतिको मिहिनेत गर्नुपर्छ भन्नेबारे बोल्दै कम्यूनिटी इन्ट्रेस्ट कम्पनीको बारे सोच्नु पर्ने विचार राखेका थिए । भवनलाई जोगाई राख्न लगानीकर्ताहरुले के भूमिका निभाउन सक्छ भन्नेबारे बिस्तारमा डाईरेक्टर ह.रि.ले. युवराज राईले बोलेका थिए। कार्यक्रमको दोस्रो सत्रमा मे. रि. कुलबहादुर थापा र चिजबहादुर गुरुङको अगुवामा नयाँ डाईरेक्टरहरुको चयन भएको थियो । विगतमा आठ जना डाईरेक्टर थिए भने नयाँमा संख्या बढाएर नौ जना नाम घोषणा गरिएको थियो । पुरानो डाईरेक्टरहरुमा क्षत्रबहादुर राई र अमृत गुरुङले नयाँहरुलाई मौका दिने निधो गरेका थिए । डाईरेक्टरमा निर्वाचित हुनेमा ले. रि मुक्तिजङ्ग गुरुङ, प्रकाश गुरुङ, क्या. रि. राजेन्द्रमान गुरुङ, टेकबहादुर थापा, ओमबहादुर थापा, रामधन राई, ह.रि.ले. युवराज राई, किशोर श्रेष्ठ र रामलाल श्रेष्ठ थिए । उनीहरू सबैलाई मेजर थापाले खादा लगाई कार्यकाल सफलताको शुभकामाना दिए ।
कार्यक्रममा लगानीकर्ताहरुको जिज्ञासमा डाईरेक्टरहरुले जवाफ दिएका थिए । कार्यक्रम संचालन प्रकाश गुरुङले गरेका थिए। गोर्खा भवन ५२३ जना लगानीकर्ताहरु मिलेर २००५ साल नगदमा किनेको घर हो । हालमा ४९३ जना लगानीकर्ता रहेका छन् ।