लन्डन । नेपाली समाज नटिङ्घम युकेको आयोजनामा आगामी १२ अगस्ट २०२४ मा नेपाली मेला हुने भएको छ ।
नेपालका राष्ट्रिय खेलहरू र ख्यातीप्राप्त कलाकारहरुको साथमा मेला हुन लागेको नेपाली समाज नटिङ्घम युकेका उपाध्यक्ष तथा सुनगाभा को ईभेन्ट डाइरेक्टर लोकनाथ अधिकारीले जानकारी दिए । मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ विभिन्न कला कौशल तथा झाँकी प्रस्तुति, नेपाली खानाका स्टलहरु, मैत्रीपूर्ण भलिबल, फुटबल प्रतियोगिता, घैंटो फुटाउने, डोरी तान्ने, रुमाल लुकाइ, कबड्डी, डन्डिबियोलगायत विभिन्न खेल, नेपाली गरगहना, पोसाकसम्बन्धी स्टल राखिने आयोजकले जनाएको छ । मेलवर्न रोड नटिङ्घममा हुने उक्त मेलामा मोर्गेज, एकाउन्टेन तथा कानुनी परामर्शसम्बन्धी सेवाहरु समेत दिइने छ ।
मेलाको समय बिहान १० देखि राति ९ बजेसम्म तोकिएको छ ।
यसैबीच नटिङ्घम नेपाली मेलामा सहभागी हुन गैर आवासीय नपाली संघ इंग्ल्यान्ड राज्य परिषद्ले अनुरोध गरेको छ । परिषद्का अध्यक्ष शम्भूप्रसाद अर्यालले एक सूचना जारी गर्दै युकेका समाजहरुले विभिन्न क्षेत्रबाट नेपाल र नेपालीलाई चिनाउने र एकआपसमा भेटघाट, दु:खसुख साटासाट गर्ने नेपाली मैलिकतामा आधारित नेपाली मेलामा सहभागी हुन युकेवासी नेपाली परिवारहरूलाई आग्रह गरेका हुन् ।
'नटिङ्घम समाजबाट आउँदो महिनाको अगस्ट १२ तारिखमा नटिङ्घम मेलामा समय मिलायर उपस्थित भइदिनुहुन सम्पूर्ण युकेवासी नेपाली परिवारहरूलाई हार्दिक अनुरोध गर्दछु,' अध्यक्ष अर्यालको सूचना उल्लेख छ ।