लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको आसन्न अधिवेशनका लागि गठित निर्वाचन समितिले पूर्णता पाएको छ ।
सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमिति बैठकले निर्वाचन समितिलाई पूर्णता दिएको हो । बैठकले यसअघि शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा शाखाका सल्लाहकारद्धय पूर्ण गुरुङ र प्रजय शुक्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै, निर्वाचन समितिलाई आवश्यक कानूनी परामर्शको लागि सोलिसिटर उत्तरमान तिगेलालाई कानूनी सल्लाहकारमा नियुक्त गरिएको छ । बैठकले यही जुलाई १४ मा हुने शाखाको छैटौँ अधिवेसन आयोजनाका लागि उपाध्यक्ष प्रमीला लावुङ राईलाई संयोजक तोकेको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारलाई कार्यक्रम संयोजक र कोषाध्यक्ष एसके गुरुङलाई आर्थिक संयोजकको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
निर्धारित मितिमै अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यका लागि महासंघ केन्द्रीय समितिसँग समन्वय गर्ने र शाखाका सम्पूर्ण सदस्यलाई सहभागिता तथा सहयोगको लागि आव्हान गर्ने निर्णय समेत गरेको छ । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा बसेको बैठक महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमीला लावुङ राई, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङनाम, कार्यसमिति सदस्यहरू गोमा राना, मिलन तमु, बाचस्पति रेग्मीका साथै पर्यवेक्षकका रूपमा केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेलाको बैठकमा सहभागिता थियो ।
आगामी जुलाई १४ मा अल्डरसटमा हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।