लन्डन । तनहुँ समाज युकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू भव्य रूपमा सम्पन्न भएको छ । शनिबार फार्नबोरोस्थित स्यामुएल कोडी स्पोर्टस कलेजमा विविध सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम भएको हो ।
समाजका अध्यक्ष केशर रानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास लन्डनका द्वितीय सेक्रेटरी रामबाबु नेपाल रहेका थिए । कार्यक्रम सञ्चालन महासचिव बोधविक्रम थापाले गरेका थिए । उनले सुरुमा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । कार्यक्रमको कोअर्डिनेटर तथा उपाध्यक्ष शन्त गुरुङले उपस्थितलाई स्वागत मन्तव्य राख्दै समाजको परिचय दिएका थिए ।
कार्यक्रमका अध्यक्ष राना र प्रमुख अतिथि नेपालले संयुक्त रूपमा क्यान्डिल बालेर उद्घाटन गरे । त्यसपछि नेपाल र युकेको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
समाजका वरिष्ठ सल्लाहकार मेजर रिटायर्ड कुलबहादुर थापा, गोर्खाली समाज युकेका अध्यक्ष हेम गुरुङले शुभकामना मन्तव्य राखे । मौलिक कौरा प्रतियोगिताका डोनर मिछुर्लुङलाई प्रशंसा पत्र तथा नेपालबाट आएका कलाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
अन्त्यमा प्रमुख अतिथि तथा दूतावासका द्वितीय सेक्रेटरी नेपालले शुभकामना मन्तव्य राख्दै संस्थाको प्रगतिको कामना गरे । अध्यक्ष रानाले त्यसपछि उपस्थित सबैलाई धन्यवाद भन्दै कार्यक्रम समापन गरेका थिए ।
औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम र राफल ड्र सुरु भएको थियो । कलाकारहरूको नृत्य तथा सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शक झुमेका थिए ।
कलाकारहरू मोहन थापा, कुमार राना, यङ्क आले, सविता रानासहितको समूहले सांस्कृतिक नृत्य (करुवा) प्रस्तुत गरेका थिए । नेपालबाट आएका विशेष अतिथि कलाकार तथा गायकहरू राजु ढकाल, पवन राना मगर, सविता परियार, सम्झना लामिछाने मगर र अस्मिता रानाको प्रस्तुति पनि बेजोड रहेको थियो ।
सांस्कृतिक कार्यक्रम सञ्चालन मनसुदन थापा मगर र याम थापाले गरेका थिए ।