लन्डन । तमु समाज युकेको अध्यक्षमा बिन्दु घले निर्वाचित भएकी छन् । समाजको शनिबार सम्पन्न १७औँ वार्षिक साधारणसभा तथा सातौँ महाधिवेशनले घलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
नवनिर्वाचित उपाध्यक्षमा भीमबहादुर, केदारबहादुर गुरुङ र मिरा गुरुङ तथा महासचिव सुब घले र कोषाध्यक्षमा चन्द्रकान्त गुरुङ निर्वाचित भएका छन् । कार्य समितिमा अन्य पदाधिकारी तथा सदस्य गरी २१ जना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
तमु समाज युके नेप्लीज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लन्डनमा भएको कार्यक्रमको अध्यक्षता छैटौँ कार्यसमितिका अध्यक्ष शिवकुमार गुरुङले गरेका थिए । संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, अध्यक्ष शिवकुमार गुरुङ र आमा समूहका अध्यक्ष उमादेवी गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा १७औँ वार्षिक साधारणसभा भएको थियो । महासचिव धरम बल गुरुङले संस्थाको वार्षिक प्रतिबेदन तथा प्रगति विवरण, आमा समूहका अध्यक्ष उमादेवी गुरुङ, युवा समूहका अध्यक्ष ओमकार गुरुङले आ-आफ्नो समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष खेमबहादुर गुरुङले सामाजिक भवनको आयव्यय विवरण र समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभाले सबै प्रतिवेदन सर्व सहमतिले पारित गरेको थियो ।
यसैगरी, साधारणसभामा विधान संशोधन र आगामी कार्यक्रमबारे बृहत् छलफल गरिएको थियो । उपाध्यक्ष बिन्दु घलेले स्वागत मन्तव्य राखेको सभामा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, सल्लाहकार तथा तमु धीं युकेका पूर्वअध्यक्ष सुवासिङ गुरङ बीईम, सल्लाहकार लेरी थमप्रसाद गुरुङ, आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ र सल्लाहकार काउन्सिलर कमल गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
हेल्थ एन्ड सेप्टीबारे जानकारीसहित महासचिव धरम बल गुरुङले सञ्चालन गरेको पहिले चरणको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा भएको थियो । साधारणसभामा बोल्ने वक्ताले समाजको हित र भावी कार्यक्रमका लागि सकारात्मक सुझाव दिएका थिए । उनीहरूले हालसम्म भइरहेका काममा खुसी प्रकट गर्दै छैटौँ कार्य समितिका पदाधिकारी तथा सदस्यलाई धन्यवाद व्यक्त गरेका थिए ।
पहिलो चरणको कार्यक्रमको अन्त्यमा वक्ताले उठाएका विषयबारे बुँदागत छलफल र निर्णय गरिएको थियो । त्यसपछि नयाँ आजीवन सदस्य पोसबहादुर गुरुङलाई अध्यक्ष शिवकुमार गुरुले समाजमा स्वागत गरी खदा लगाई समाजको लोगोअंकित ब्याज प्रदान गरेका थिए ।
सभाको अन्त्यमा अध्यक्ष गुरुङले कार्य समितिको पदाधिकारी, सल्लाहकार, आमा समूह र युवा समूह र उपस्थित आजीवन सदस्यलाई धन्यवाद व्यक्त गरे । उनले नयाँ कार्य समितिलाई पनि सहयोग गर्न अपिल छैटौँ कार्य समितिको पदावधि समाप्त भएको घोषण गरेका थिए ।
त्यसपछि नयाँ कार्य समिति चयन प्रक्रिया सुरु भएको थियो । निर्वाचन समितिका अध्यक्ष तथा पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङको अध्यक्षतामा निर्वाचन समितिका सचिव गोपी गुरुङले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रममा सर्वसम्मत रूपमा नयाँ कार्य समितिको घोषणा गरिएको थियो । निर्वाचन समितिमा निर्वतमान अध्यक्ष तथा सल्लाहकार शिवचन्द्र गुरुङ, उपाध्यक्ष आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, सदस्य सल्लाहकार कन्यप्रसाद गुरुङ सदस्य थिए।
निर्वाचन समितिका अध्यक्ष गुरुङले नवनिर्वाचित पदाधिकारीलाई सपथ गराएका थिए । उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र निर्वाचन समितिका अध्यक्षले नवनिर्वाचित पदाधिकारीलाई खादा लगाई, पछ्यौरी र भाङ्ग्रा ओढाएर बधाई तथा शुभकामना दिएका थिए। छैटौँ कार्य समितिका अध्यक्ष गुरुङले संस्थाको विधान र नव निर्वाचित अध्यक्ष घलेले संस्थाको प्लेक एक अर्कालाई प्रदान गरी पदभार हस्तान्तरण गरेका थिए ।
त्यसपछि नवनिर्वाचित अध्यक्ष घलेले समाजको सर्वोपरी हितमा आफू लाग्ने र समाजको नाम उच्च राखिरहने प्रतिबद्धता जनाइन् । सो अवसरमा निवर्तमान अध्यक्षलाई धन्यवाद र नवनिर्वाचित अध्यक्षलाई बधाई लेखिएको केक काटेर सेलिब्रेसन गरिएको थियो ।
कार्यक्रममा फोटोग्राफर ओमकार गुरुङ, साउन्ड सिस्टम व्यवस्थापन तथा सञ्चालन प्रज्ज्वलमान गुरुङ तथा क्याटरिङको व्यवस्था रारा केटर्सले गरेका थिए ।