फेल्थाम । नेप्लिज लेडिज कम्युनिटी हाउन्स्लो लन्डनको अध्यक्षमा प्रभा खापुङ्ग निर्विरोध चयन भएकी छन् ।
गत हप्ता आइतबार, ९ जुन २०२४ का दिन फेल्थामस्थित स्प्रिङ्गवेस्ट एकेडेमीमा सम्पन्न एनएलसीएच लन्डनको अधिवेशनले प्रभाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्ष सुस्मिता कन्दङ्वा, उपाध्यक्ष सुनिता प्रधान, महासचिव ध्रुवी गुरुङ, सचिव लक्ष्मी गुरुङ, कोषाध्यक्ष सोनिया गुरुङ र सहकोषाध्यक्ष तुलमाया तामाङ चयन भए ।
सदस्यहरूमा बिनिता खड्का, चञ्चला गुरुङ, दुर्गादेवी गुरुङ, ज्ञानु थापा, कला चेम्जोङ, खुस गुरुङ, माधुरी राई, मीनकुमारी थापा, पूर्ण गुरुङ, पुष्पा ताम्राकार, रेणुका राई, शर्मिला सुब्बा, शिखा खड्का र सीता राई रहेका छन् ।
अधिवेशनले ६ जना सल्लाहकारहरूसमेत चयन गरेको छ । जसमा अञ्जला कन्दङ्वा, देवी रानी गुरुङ (संस्थापक), कुमारी गुरुङ, पुष्पा सुब्बा, सम्झना गुरुङ र सुशीला प्रधान छन्।
नयाँ कार्यसमितिका पधाधिकारीहरुले सोही दिन पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै भूतपूर्व तथा संस्थापक अध्यक्ष देवीरानी गुरुङले विधिवत् रुपमा बिदा लिएकी थिइन् ।
नवनिर्वाचित अध्यक्ष प्रभा खापुङले पूर्वअध्यक्ष तथा पूर्वकार्यसमितिका दिदीबहिनीहरूले समुदायको जग बलियो बनाउने विविध प्रभावकारी कार्यक्रमहरू प्रारम्भ गरी यहाँसम्म ल्याउनमा अति प्रशंसनीय योगदान पुर्याएको र भविष्यमा पनि आफूले यस्तै साथ र सहयोगको अपेक्षा राखेको बताइन् । उनले आफूलाई गहन जिम्मेवारीको अभिभारा सुम्पिएकोमा उपस्थित सम्पूर्णलाई विशेष आभार प्रकट गरिन् । साथै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु एवम् सम्पूर्ण दिदीबहिनीहरूको साथ, सहयोग र एकतालाई बढावा दिएर समुदायलाई सशक्तिकरण र अझ नयाँ उचाईमा पुर्याउने अठोट व्यक्त गरिन् । सोही अवसरमा एनएलसीएच लन्डनले आगामी अगस्ट ३१ शनिबार फेल्थामको एसेम्ब्ली हलमा तीज कार्यक्रम-२०२४ आयोजना गर्ने जानकारी दिँदै सम्पूर्ण उपस्थित दिदीबहिनीहरूलाई आफ्ना साथी-संगिनीहरूसहित उक्त कार्यक्रम सफल पार्न तथा रमाइलो गर्न आग्रह गरिन् ।
अधिवेशन संस्थाकी महासचिव सुस्मिता कन्दङ्वाले अहिलेसम्म संस्थाले गरेको कामहरु साथै संस्थाको उद्देश्यहरु समेटिएको कार्यपत्र विवरण प्रस्तुत गरेकी थिइन् । संस्थाकी कोषाध्यक्ष सुनिता प्रधान र सहकोषाध्यक्ष सोनिया गुरुङले आर्थिक विवरण प्रस्तुत गरेकी थिइन् । अधिवेशनमा गोर्खा स्टोर्स् फेल्थामद्वारा खाजापानीको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा अतिथि, पुरानो कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकारलगायत नयाँ सदस्यता लिने दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । सन् २०१३ सालमा देवी रानी गुरुङको अध्यक्षतामा स्थापना भएको यस संस्थामा हाउन्स्लो बरा अफ लन्डन क्षेत्रभित्र तथा बरा वरपरका महिलाहरुलाई समेटी स्थापनाकालदेखि नै विविध किसिमका सामाजिक तथा परोपकारीक कार्यहरु गर्दै आएको थियो ।