लन्डन । तमु प्ये ल्हु संघ युकेले वार्षिक रूपमा आयोजना गर्ने यस वर्षको वार्षिक ग्रीष्मकालीन भेटघाट तथा बीबीक्यू कार्यक्रमलाई मिनी मेलाको रूपमा आयोजना गर्ने भएको छ ।
तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुले आर्थिक वर्षको कार्यक्रम अवधारणा पेश गर्दै केही नौलो र लक्ष्यमुखी कार्य गर्दै जाने अभिप्रायले यस वर्षको गृष्मकालीन भेटघाटलाई मिनी मेलाका रूपमा आयोजना गर्न लागेको बताए । उक्त कार्यक्रममा सदा झैँ पोलेको बीबीक्यूलगायत विभिन्न परिकारका स्वादिलो खाना, कार्यक्रमस्थलमा नै पकाइएको सेलरोटीले सहभागीलाई ताजा स्वाद दिने प्रबन्ध मिलाएको छ ।
त्यसैगरि उपस्थित जनमानसलाई मनोरञ्जन दिनको लागि नेपालदेखि बेलायत भ्रमणमा आएका राष्ट्रिय कलाकारको पनि जमघट गराइनेछ । गायिका सविना गुरुङ, उषा गुरुङ, गायक तिलक गुरुङ र नायिका लक्ष्मी गुरुङलगायत कलाकारले बेजोड सांगीतिक प्रस्तुति दिने बताइएको छ ।
थप मनोरञ्जनका लागि विभिन्न रमाइला खेलहरू (घैँटो फुटाउने, म्युजिकल चेयर, ठेलो र रस्सा–कस्सीलगायत) समावेश गरिएको समाचार छ । ‘अन्तर–भाइखलक रस्सा–कस्सी खेल विशेष आकर्षक हुने अनुमान गरिएको छ । राफल ड्र अर्को आकर्षक पक्ष हुनेछ,’ सचिव भेग च्हाक्ली तमुले भने ।
कार्यक्रममा विगत झैँ समग्र मानव र जगतको भलाईको लागि छ्योप त्हेँ र थासोँ त्हेँ गराइने भएकाले सबैलाई आनामाना लिएर आउन प्रथम उपाध्यक्ष पूर्णबीर प्हच्यु तमुले आव्हान गरेका छन् ।
विभिन्न स्टलसमेत राखिने भएकाले इच्छुक व्यवसायी तथा व्यापारीलाई सम्पर्क गर्न पनि आव्हान गरिएको छ । त्यसैगरि कार्यक्रममा आउन जान सहजताका लागि यातायातको समेत व्यवस्था गरिने तृतीय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमुले बताए ।