लन्डन । किरात बान्तवा रुङमाहाङ राई वातुङ समिति युकेको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
शनिबार किरात राई हाउस ग्याम्बल्स लेनमा सम्पन्न अधिवेशनले विनोदकुमार राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा पोपिराज राई, सचिवमा भूमिराज राई, कोषाध्यक्षमा रञ्जित राई, सहसचिवमा किरण राई, सहकोषाध्यक्ष निर्मल राई रहेका छन् ।
यसैगरी, सदस्यहरूमा पूजा बान्तवा, तायाहाङ्मा राई, मिलन राई, दिपेन राई, दिवाहाङ राई, झण्ड राई र रबिन राई चयन भएका छन् । सल्लाहकारमा, जंगराज राई, युद्धराज राई र छेत्रकला राई रहेका छन् ।
![447599515_473495958426153_7473514936285412107_n-1717940075.jpg](https://gurkhamedia.com/uploads/posts/447599515_473495958426153_7473514936285412107_n-1717940075.jpg)
ज्येष्ठ सदस्य कृष्णकुमारी राईले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा पुर्खा र दिवंगत भएका आफन्तको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । रुङमाहाङ वंशको राष्ट्रिय वंशीय गीत गाएपछि कार्यक्रम सुरु भएको थियो ।
सो अवसरमा निवर्तमान उपाध्यक्ष विनोदकुमार राईले स्वागत मन्तव्य राखेका थिए। त्यसपछि नयाँ सदस्यलाई खादा ओढाएर स्वागत गरिएको थियो । सल्लाहकार छेत्रकला राईले सुरुआतदेखिको संस्थाको कार्यक्रम र हालसम्मको आरोह अवरोहबारे प्रस्ट पारिन् ।
कोरोना महामारीका कारण झन्डै ६ बर्से लामो कार्यकाल पूरा गरी युद्धराज राई नेतृत्वको कार्य समितिले प्रतिवेदन प्रस्तुत गरेपछि सर्वसम्मत रूपमा पारित भएको थियो । त्यसपछि नयाँ कार्य समिति गठन प्रक्रिया अघि बढेको थियो ।
![447608563_3673774896223005_2892293936610624819_n-1717940109.jpg](https://gurkhamedia.com/uploads/posts/447608563_3673774896223005_2892293936610624819_n-1717940109.jpg)
वंशीय पारिवारिक समिति भएकाले सर्वसम्मत रूपमा नयाँ कार्य समिति बनेको हो । नव निर्वाचित अध्यक्ष राईले कठिन समयमा वंशीय वातुङलाई यहाँसम्म सफलतापूर्वक ल्याएर जिम्मेवारी सुम्पिएकामा अघिल्लो समितिलाई धन्यवाद दिए । साथै उनले उपलब्धिमूलक कार्य गर्न सघाउने युके वातुङका वंश, छोरीचेली तथा ज्वाईंचेला सम्पूर्णप्रति कृतज्ञता प्रकट गरे ।
नेपालको ललितपुर गोदावरीस्थित गोदाम चौरमा व्यवसायी वंश नन्दराज राईको नेतृत्वमा निर्मित नेपालकै उत्कृष्ट नमुना माङखिम, किरात बान्तवा रुङमाहाङ राईहरूको सामूहिक माङ्खिम/चुलाघर तथा संग्राहलय निर्माणमा युके वातुङले ५० लाख बराबरको आर्थिक सहयोग गर्न सफल भएको भन्दै सहयोगी दाता र सहयोग उठाउन सक्रिय वंशहरूलाई धन्यवाद दिए ।
![447604124_3622611524667954_3806432149355929071_n-1717940223.jpg](https://gurkhamedia.com/uploads/posts/447604124_3622611524667954_3806432149355929071_n-1717940223.jpg)
उपाध्यक्ष पोपिराज राईले पनि पूर्व कार्यसमिति निवर्तमान कार्य समितिलाई धन्यवाद दिए । आगामी तीन वर्ष रुङमाहाङ वंशीय वातुङ युकेको सेवकका रूपमा सेवा गर्ने प्रतिबद्धतासमेत जनाए । संस्थामा यस वर्ष तीन जना नयाँ सदस्यहरू अर्जुनभक्त राई ( ज्वाईँ चेला ), देवी राई र दिपा राई (अमेरिका) ले सदस्यता लिएका छन् ।
आवश्यकता अनुसार सदस्य, उपाध्यक्ष र सल्लाहकार थप गर्ने सहमति भएको छ । उपस्थित छोरीचेली र ज्वाईंचेलाले ल्याएको कोशेली र वंशले कार्यक्रम आयोजनाका लागि हरेक परिवारले १०० पाउन्डका दरले सहयोग गरेका थिए । ओजोन रेस्टुरेन्टले मिठो तथा स्वादिस्ट खानाका परिकार उपलब्ध गराएको थियो । कार्यक्रम सञ्चालन निवर्तमान सचिव प्रदीप राई र भूमिराज राईले गरेका थिए ।
![447530847_474385001702989_7283057285479204148_n-1717940318.jpg](https://gurkhamedia.com/uploads/posts/447530847_474385001702989_7283057285479204148_n-1717940318.jpg)
सन् २००८ मा बेलायतमा अन्य नेपालीसहित रुङमाहाङ राईहरू नेपालबाट बसाइँसराइ गरेर आउने क्रम बढेको थियो । त्यसपछि दयासागर राईको अध्यक्षतामा फोल्कस्टोन, केन्ट, युकेमा किरात बान्तवा रुङमाहाङ राई वातुङ समिति युके गठन भएको थियो । समिति नेपाल केन्द्रीय वातुङ समिति कै बिधानअनुसार सञ्चालन भइरहेको छ ।
संस्थाले युकेमा हरेक वर्ष एकदिन वंश र छोरीचेली, ज्वाईंचेला भानाभान्जीको सामूहिक भेला आयोजना गरेर भेटघाट र चिनजान कार्यक्रम आयोजना गर्ने गर्दछ । सो अवसरमा वंशहरूले मात्रै खर्च बेहोरेर छोरीचेली, ज्वाईंचेलालाई स्वागत गर्ने चलन छ ।
![447612647_1415747782438361_4234426701303117739_n-1717940349.jpg](https://gurkhamedia.com/uploads/posts/447612647_1415747782438361_4234426701303117739_n-1717940349.jpg)
दुःख बिमार, मर्दापर्दा समितिको विधानले तोकेअनुसार युके र नेपालमा आर्थिक सहयोग गर्ने चलन छ । किरात बान्तवा रुङमाहाङ राईका लागि समाजले काठमाडौँमा औषधोपचार कल्याणकारी कोषसमेत सुरु गरेको छ ।
‘रगत र दूधको रक्षा गरौँ’ नाराका साथ किरात बान्तवा रुङमाहाङ राई वंशको वातुङ समिति पूर्वसीडीओ प्रेमकुमार राईले २०२६ सालमा भोजपुरको दिल्पामा गठन गरेका थिए । हालसम्म विभिन्न मिति र स्थानमा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । केही वर्षअघि रुङमाहाङ वातुङ स्थापनाको स्वर्ण जयन्ती भोजपुरमा मनाइएको थियो ।
![447648326_793221936277701_2247160376834882859_n-1717940374.jpg](https://gurkhamedia.com/uploads/posts/447648326_793221936277701_2247160376834882859_n-1717940374.jpg)
रुङमाहाङ वंशका चर्चित व्यक्तित्वमा पूर्वअञ्चलाधीश स्वर्गीय मकरबहादुर बान्तवा, पूर्वसीडीओ प्रेमकुमार बान्तवा, पूर्वएआईजी रामकाजी बान्तवा, पूर्वआईजीपी (सशस्त्र प्रहरी बल) दुर्जकुमार राई, चलचित्र निर्माताहरू दयासागर राई, चचित्र बिकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, जोतिराज राई (आदिबासी चलचित्र समाज कोशी प्रदेश अध्यक्ष ) ब्रिटिस सेनाका मेजर स्वर्गीय बागधन राईलगायत रहेका छन् ।
![447670442_1040467844079805_8095007524063237872_n-1717940402.jpg](https://gurkhamedia.com/uploads/posts/447670442_1040467844079805_8095007524063237872_n-1717940402.jpg)
किरात बान्तवा रुङमाहाङ राईहरू नेपालको, भोजपुर, इलाम, पाँचथर, ताप्लेजुङ, झापा, सुनसरी, खोटाङ, उदयपुर, काठमाडौँलगायत स्थानमा बसोबास गर्दै आएका छन् ।
मुख्य उद्गमथलो भोजपुरको दिल्पा (दिवाहाङ बाक्खा) बाट रुङमाहाङ राईहरू बसाइँसराइ र जीविकोपार्जनका क्रममा विभिन्न स्थानमा पुगेका छन् ।
![447706258_978045537317908_8176741618815263237_n-1717940460.jpg](https://gurkhamedia.com/uploads/posts/447706258_978045537317908_8176741618815263237_n-1717940460.jpg)
![447721169_1520243842035464_8739325064824466970_n-1717940483.jpg](https://gurkhamedia.com/uploads/posts/447721169_1520243842035464_8739325064824466970_n-1717940483.jpg)