लन्डन । ईलमपोखरी समाज युकेको गृष्मकालीन वार्षिक भेटघाट तथा बीबीक्यू पार्टी भव्य रुपमा सम्पन्न भएको छ । शनिबार ८ जुन २०२४ मा लेजर सेन्टर अल्डरसटमा महिला भलिबल, महिलाका लागि म्युजिकल चेयर, ठेलो प्रतियोगिता र फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रमलगायत गरी भेटघाट कार्यक्रम गरिएको हो ।
दुई चरणमा आयोजित कार्यक्रमको पहिलो सत्रमा आउटडोर फुटबल प्रतियोगिता र त्यसपछि इन्डोरमा औपचारिक कार्यक्रम भएको थियो । ईलमपोखरी समाज युकेका अध्यक्ष परशु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए ।
औपचारिक कार्यक्रम प्रमुख अतिथि लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङ, ईलमपोखरी समाज युकेका संस्थापक अध्यक्ष मोहनसिंह गुरुङ, निवर्तमान अध्यक्ष पूर्णराज गुरुङ, लमजुङ समाज युकेको आमा समूह अध्यक्ष माला घले, समाजसेवी क्या रिटायर्ड रनबहादुर गुरुङ र ईलमपोखरी समाज युकेका अध्यक्ष परशु गुरुङलाई दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लमजुङ समाजका अध्यक्ष दलबहादुर गुरुङ, श्रीमती तारा गुरुङ, आमा समूहकी अध्यक्ष माला घले, तमु कलाकार मञ्च युकेका अध्यक्ष पदम गुरुङ, मानार्थ सदस्य बोहत गुरुङ, लक्ष्मी गुरुङ, श्रीमती इन्द्र गुरुङ, गोर्खा मिडिया डटकमका प्रबन्ध निर्देशक तथा फोटोग्राफर मिलन तमु, अतिथि कलाकार तथा गायिका मनमाया वाइबा, वरिष्ठ अफिसरहरु मेजर गणेश गुरुङ, क्या. रणबहादुर गुरुङ, समाजका संस्थापक अध्यक्ष मोहन गुरुङ, निवर्तमान अध्यक्ष पूर्णराज गुरुङ, उपाध्यक्ष बुद्धिराम गुरुङ, सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु सहभागी थिए ।
कार्यक्रममा ईलमपोखरी समाज युकेका अध्यक्ष परशु गुरुङ र उनकी श्रीमती नन्दा गुरुङले महिला, पुरुष भलिबल तथा फुटबल लगायत प्रतियोगिता विजेता, उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै लमजुङ जिल्ला राइनास गाउँपालिकाका लेरि सेनबहादुर गुरुङ र नौमाया गुरुङका छोरा डा. भोकराज गुरुङले केही हप्ता अगाडि युनिभर्सिटी अफ केन्टबाट समाजशास्त्र विषयमा विद्यावारिधी (पीएचडी) गरेकोमा ईलमपोखरी समाजले सम्मान गरेको थियो ।
डा. भोकराज गुरुङलाई प्रमुख अतिथि लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङ, श्रीमती तारा गुरुङ, ईलमपोखरी समाज युकेका अध्यक्ष परशु गुरुङ र श्रीमती नन्दा गुरुङले खादा, मायाको चिनोसहित सम्मान गरे ।
प्रमुख अतिथि लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङ, ईलमपोखरी समाज युकेका संस्थापक अध्यक्ष मोहनसिंह गुरुङ, लमजुङ समाज युकेको आमा समूह अध्यक्ष माला घलेलगायतले मन्तव्य राखेका थिए । सांस्कृतिक कार्यक्रममा गजबहादुर गुरुङ र उनको टिमले गुरुङ राष्ट्रिय गान, महासचिव कुमार गुरुङ र उनको टिमले संगीत प्रस्तुति दिएका थिए भने नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका मनमाया वाइबाले एकल तथा हरि गुरुङसँग दोहोरी गाउँदा उपस्थित दर्शकहरु निकै उत्साही बनेर नाचगान गरेका थिए ।
कार्यक्रमलाई थप आकर्षण गराउन भाग्योदय चिट्ठा खेलाइएको थियो । राफल ड्रको प्रायोजन तथा कार्यक्रमको लागि लमजुङ समाज युकेको आमा समूह अध्यक्ष माला घले, समाजसेवी क्या रणबहादुर गुरुङ, प्रमुख अतिथि दलबहादुर गुरुङ, क्या तुलबहादुर गुरुङ, मेजर गणेश गुरुङ, संस्थापक अध्यक्ष मोहन गुरुङ, निवर्तमान अध्यक्ष पूर्णराज गुरुङ लगायत समाजका कार्यसमितिका पदाधिकारीहरु तथा धरै सल्लाहकारहरुले गरेका थिए । सांस्कृतिक सचिव गजबहादुर गुरुङको संयोजकत्वमा भएको कार्यक्रम सबिता गुरुङले सञ्चालन गरेकी थिइन् । बेजिङस्टोक निवासी सन्तोष गुरुङको डिजे समेटिएको कार्यक्रमको भिडियो र फोटोग्राफी सन्तोष गुरुङले गरेका थिए ।
कार्यक्रममा खाद्य पदार्थ डिलाउन्ज रेस्टूरेन्ट एन्ड बारले उपलब्ध गराएको थियो । ईलमपोखरी समाज युकेका अध्यक्ष परशु गुरुङले कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्ने कार्यसमितिका सबै पदाधिकारी, आमन्त्रित पाहुना, सहभागी सबैलाई धन्यवाद दिएका थिए । औपचारिक कार्यक्रम सचिव कुमार गुरुङले सञ्चालन गरेका थिए ।
यसैबीच सोही कार्यक्रममा संस्थाको आउँदो कार्यक्रमहरुबारे पनि जानकारी गराइएको थियो । आगामी १२ अक्टोबर २०२४ मा प्रारम्भिक वार्षिक साधारणासभा, ९ नोभेम्बर २०२४ मा वार्षिक साधारणसभा, २१ डिसेम्बरमा स्यामुयल कोडी स्पोर्ट्स कलेजमा ल्होछार पार्टी हुने जानकारी गराइएको हो ।
यस समाजले वर्षमा दुई पटक मुख्य कार्यक्रम आयोजना गर्ने गर्छ, हिउँदमा ल्होछार पार्टी र समरमा बीबीक्यू पार्टी । न्यानो मौसम भएको कारण हिउँदभन्दा समर पार्टीमा धेरै मानिस सहभागी हुने गरेको अध्यक्ष गुरुङले बताए । यस पटकको कार्यक्रममा पूर्व जानकारी गरेअनुसार सबै दिदीबहिनीहरु एकै खालका लुंगीमा पहिरिएर आएका थिए । यस वर्षको कार्यक्रम बडो राम्रो, रमाइलो अनि नौलोपन रहेको सहभागीको प्रतिक्रिया रहेको छ ।