लन्डन । बेलायतमा महारानी भिक्टोरियाको सम्झनामा ‘भिक्टोरिया डे’ मनाइएको छ। शनिबार अल्डरसटमा रसमुर बोरो काउन्सिलको आयोजनामा अल्डरसटमा कार्निभल परेड, सांस्कृतिक कार्यक्रमलगायत गरी 'भिक्टोरिया डे' मनाइएको हो । सो क्रममा नौमती बाजासहित अल्डरसट शहर परिक्रमा गरिएको थियो । कार्यक्रममा ग्रेटर रसमूर नेपाली कम्युनिटी युकेलगायथ विभिन्न १३ भन्दा बढी संघसंस्थाले भाग लिएका थिए ।
यस्तै, कार्यक्रमका लागि ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेलेसमेत सहकार्य गरेको थियो । बेलायतमा सक्रिय विभिन्न नेपाली संघसंस्था र नेपाली दाजुभाइ दिदीबहिनीले जीआरएनसीको नेतृत्वमा भाग लिएका छन् ।
परेडमा बुद्धिस्ट कम्युनिटी सेन्टर (बिसीसी) युके, शिव कल्चर एन्ड कम्युनिटी सेन्टर, साई सेन्टर फार्नबोरो, लमजुङ समाज युके, तमु धीं, किरात राई यायोक्खा रसमुर शाखा, मगर संघ युके यूएचएसबी शाखा, किरात याक्थुङ चुम्लुङ रसमुर शाखा, गोर्खा आमा समूह (एम्पायर), गोर्खा आमा समूह अल्डरसट, म खेल्छु, नवयुवा, रनिङ क्लबलगायत व्यक्ति, समाजसेवी, संघसंस्था, उद्यमी र व्यापारीलगायत सहभागी थिए ।
उनीहरूले आ-आफ्नो नेपाली मौलिक भेषभूषा, तुल र व्यानरका साथ भाग लिए । प्रत्येक वर्ष फरक-फरक थिममा हुने भिक्टोरिया डे यस वर्ष एनिमल थिममा भएको हो । अन्त्यमा ग्रेटर रसमुर नेप्लिज कक्युनिटीका अध्यक्ष मान गुरुङले सहभागी संघसंस्था र स्वयम्सेवक लगायतलाई प्रसंसापत्र प्रदान गरेका थिए ।
कार्यक्रम संयोजक जीआरएनसी युकेका उपाध्यक्ष उत्तरबहादुर गुरूङ, सहसंयोजक सुष्मा गुरूङ थिए ।
अल्डरसटमा प्रत्येक वर्ष जुनमा भिक्टोरिया डे मनाइने गरिन्छ । महारानी भिक्टोरियाले बेलायतमा ६३ वर्ष २१६ दिनसम्म लगातार शासन गरेकी थिइन् । उनको शासनकालमा बेलायतको उद्योगधन्दा, रेलमार्ग, बाटो, पुल, विज्ञानलगायत क्षेत्रमा तीव्र रूपमा विकास भएको थियो ।