लन्डन । किरात राई यायोक्खा बेलायतले किरात राईहरूको महान् चाड साकेला उँभौली २०२४ भव्य रूपमा मनाएको छ । शनिबार किरात राई ग्याम्बल लेनमा सांस्कृतिक समारोहको आयोजना गरेर धूमधामका साथ साकेला मनाएको हो ।
कार्यक्रममा सबैभन्दा पहिलो पितृ पूजाअन्तर्गत तीन चुल्होको पूजा गरेको थियो । त्यसपछि स्व.राष्ट्र राईको सम्झनामा उनका साथीहरूद्वारा निर्मित चौतारोको उद्घाटन गरिएको थियो ।
यसपछि भने औपचारिक कार्यक्रम सुरु भएको थियो । संस्थाका अध्यक्ष रि.मेजर योगेश कोयी राईको अध्यक्षतामा भएको कार्यक्रम महासचिव ईश्वर चाम्लिङ राईले सञ्चालन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथि प्रतिनिधिसभा नेपालका सदस्य तथा निवर्तमान युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बू, गिल्डफर्ड बोरो काउन्सिलका डेपुटी मेयर काउन्सिलर हवार्ड स्मिथ तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गहामगर रहेका थिए ।
जनजाति महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पासहित विभिन्न संघसंस्थाका अध्यक्षहरू अतिथि रहेका थिए । कार्यक्रमका संयोजक रि. मेजर भूपजीत राईले स्वागत मन्तव्य राखेका थिए । जनजाति महासंघका अध्यक्ष शेर्पा, एनआरएनए युकेका अध्यक्ष मगर, प्रतिनिधिसभा सदस्य लिम्बू र राजदूत आचार्यले कार्यक्रम सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्षले मन्तव्यसहित पहिलो चरणको कार्यक्रम समापन गरेपछि दोस्रो चरणको कार्यक्रम भएको थियो । अध्यक्षसहित प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । सो क्रममा विभिन्न स्थानबाट आएका कलाकारले साकेला नृत्य प्रस्तुत गरेका थिए ।
सन् २००४ मा स्थापित किरात राई यायोक्खा बेलायतको विभिन्न शहरमा १४ वटा प्रारम्भिक शाखा रहेको छ । वैशाख पूर्णिमाबाट १५ दिनसम्म मनाइने साकेला उँभौली चाड केन्द्रीय कार्यसमितिको आयोजनामा सबै शाखा तथा भाषिक संगठन मिलेर संयुक्त रूपमा मनाउने चलन छ ।
आफ्नो भाषा, धर्म तथा संस्कार संस्कृतिको अभ्यास, संरक्षण तथा प्रवर्दनका लागी बेलायतबासी किरात राईका साथै नेपालीहरूबीच एकता, माया, सहयोग र सद्भाव कायम राख्दै समुदायको सेवा गर्ने यस संस्थाको उद्देश्य छ । संस्थाको नारा ‘किरात राई एकता, हाम्रो प्रतिबद्धता’ रहेको छ ।