लन्डन । बेलायती महारानी भिक्टोरियाको सम्झनामा यस वर्ष पनि ‘भिक्टोरिया डे’मनाइँदै छ । रसमूर बोरो काउन्सिलको आयोजनामा अल्डरसटमा कार्निभल परेड, सांस्कृतिक कार्यक्रमलगायत गरी ‘भिक्टोरिया डे’मनाउन लागिएको हो । उक्त कार्यक्रमका लागि ग्रेटर रसमूर नेपाली कम्युनिटी युकेले समेत सहकार्य गर्ने छ ।
बेलायती महारानी भिक्टोरियाले बेलायतमा ६३ वर्ष २ सय १६ दिनसम्म लगातार शासन गरेकी थिइन् । उनको कार्यकालमा बेलायतको विकास निर्माणले द्रुत गति लिएको थियो । उनकै शासनकालमा बेलायतको उद्योगधन्दा, रेलमार्ग, बाटो, पुल, विज्ञान लगायतको क्षेत्रमा व्यापकरुपमा विकास भएको इतिहास छ ।
यसैबीच ‘भिक्टोरिया डे’मा सहभागी हुन बेलायतमा सक्रिय विभिन्न संघ संस्था र नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई ग्रेटर रसमूर नेपाली कम्युनिटी युकेका अध्यक्ष मान गुरुङले अपिल गरेका छन् । बेलायतमा बसोबास गर्ने भएपछि स्थानीयसँग घुलमिल गर्ने, नेपालीको उपस्थिति बढीभन्दा बढी गराउनु पर्नेमा उनले जोड दिए । 'हामी यहाँ बस्ने भएकोले स्थानीयसँग घुलमिल गर्नुपर्ने हुन्छ । हाम्रो संस्कृति देखाउन सकिन्छ । नेपाली, नेपालीबीच पनि सहकार्य हुने भएकोले यो कार्यक्रम राम्रो छ । नेपालीको उपस्थिति र महत्व झल्काउनु छ । यस वर्ष पनि सहभागिताका लागि म सबै बेलायतवासी नेपाली समुदायमा आग्रह गर्छु ।
जीआरएनसीको नेतृत्वमा भिक्टोरिया डेमा नेपाली विभिन्न संघसंस्थाहरुले भाग लिँदैछन् । परेडमा सहभागिताका लागि बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, साई सेन्टर फार्नबोरो, लमजुङ समाज युके, तमु धिं, किरात राई यायोक्खा रस्मोर शाखा, मगर संघ युके यूएचएसबी शाखा, किरात याक्थुङ चुम्लुङ रस्मोर शाखा, गोर्खा आमा समूह (एम्पायर), गोर्खा आमा समूह अल्डरसट, म खेल्छु, नवयुवा, रनिङ क्लबलगायत व्यक्ति, समाजसेवी, संघसंस्था, उद्यमी र व्यापारीहरुको सहभागिता लागि पत्राचार भइसकेको छ ।
नेपाली संघ संस्था बिहान १० बजे प्रिन्सेल हलको कारपार्कमा भेला हुनुपर्नेछ । अध्यक्ष गुरुङका अनुसार परेड ११ बजे सुरु हुनेछ । कार्यक्रममा नेपालीहरुको आ–आफ्नो भेषभूषा, तुल र व्यानारका साथ भाग लिने चलन छ । प्रत्येक वर्ष फरक-फरक थिममा हुने भिक्टोरिया डे यस वर्ष एनिमल थिममा हुँदैछ । जीआरएनसीका उपाध्यक्ष सुष्मा गुरुङ सहसंयोजक छिन् । संयोजक तथा जीआरएनसीका उपाध्यक्ष उत्तरबहादुर गुरुङ अनुपस्थित रहने भएकोले सुष्माले जिम्मेवारी वहन गर्नेछिन् ।
ब्रिटिस आर्मीको होम टाउनको रुपमा परिचित अल्डरसटमा प्रत्येक वर्ष जुन महिनामा ‘भिक्टोरिया डे’ मनाउँदै आएको छ । स्थानीय रस्मोरवासीहरु बेलायती महारानीप्रति अत्यन्त श्रद्धा, सम्मान र आदार गर्ने भएकोले पनि बेलायती महारानीको जन्मोत्सवको रुपमा मनाउँदै आएको बुझिएको ग्रेटर रस्मोर नेपाली कम्युनिटी युकेका पूर्वअध्यक्ष जीव बेल्वासे बताउँछन् । उनका अनुसार ‘पहिला प्रत्येक दुई वर्षमा एकपटक मनाउने चलन थियो, जब नेपालीहरुले पनि भाग लिन थाले त्यसपछि प्रत्येक वर्ष भिक्टोरिया डे मनाउन थालिएको हो । उक्त दिनलाई स्थानीय संघसंस्थाहरुबीच भेटघाट गर्ने थलोको रुपमा लिइन्छ ।
त्यस्तै, स्थानीय व्यापार प्रवर्द्धनको अवसरको रुपमा समेत लिँदै आएको धेरैको विश्वास छ ।
भिडियो ।