लन्डन । तमुधिं यूकेको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ ।
आउँदो डिसेम्बर २६ तारिखका दिन तमुधिं भवन मिचेटमा हुने २१ औं साधारणासभा तथा १२ औं महाधिवेशनबाट १२ औं कार्यसमिति चयन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको हो । नयाँ कार्यसमितिको विभिन्न पदमा रहेर सेवा गर्न इच्छुक आजीवन सदस्यहरुलाई उम्मेदवारी दिन निर्वाचन समितिले अनुरोध समेत गरेको छ । त्यस्तै साधारण सदस्यहरुले आगामी १० डिसेम्बर साँझ ५ बजेभित्र आ-आफ्नो सदस्यता नवीकरण गर्नुपर्ने जनाइएको छ ।
तालिकाअनुसार उम्मेदवारी मनोनयन पत्र दाखिला १७ डिसेम्बर ११:३० तोकिएको छ । अन्तिम नामावली प्रकाशन डिसेम्बर १८ रहेको छ भने मतदान २६ डिसेम्बर बिहान ११ बजे हुने निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङले जानकारी दिए ।
अध्यक्षका लागि उम्मेदवारी शुल्क २०० पाउन्ड, उपाध्यक्ष पदका लागि १५०, महासचिवलगायत अन्य पदाधिकारीहरुको शुल्क १०० पाउन्ड तोकिएको छ । त्यस्तै खेलकुद सचिवका लागि पनि १०० पाउन्ड रहेको छ भने सदस्यमा उम्मेदवारी दिनेले १० पाउन्ड शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
तमुधिं यूकेको कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ । त्यस्तै खेलकुद सचिव, मिडिया सचिव, सांस्कृतिक सचिव, च्यारिटी विभाग, सम्पत्ति विभाग, युवा संयोजक र १३ जना कार्यकारी सदस्य रहने गर्छ । त्यस्तै आमा समूहमा पनि अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष पदाधिकारी र २३ सदस्य चयन गरिने विधानको व्यवस्था रहेको छ ।