लन्डन । बेलायतवासी नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १५औँ संस्करण आगामी २५ अगस्टमा हुने भएको छ ।
तमु धीं युकेका उपाध्यक्ष एमं मेलाका संयोजक परशु गुरुङले १५औँ नेपाली मेला यो वर्ष बैंक होलिडेका दिन हुन लागेको जानकारी दिए । वार्षिक कार्यक्रमअन्तर्गत मेला रेसकोर्सस्थित केम्पटोन पार्कमा हुनेछ ।
बिहान १० देखि बेलुका ८ बजेसम्म चल्ने मेलाको मूल नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ ।
एम्बेसडर कप, विविध सांस्कृतिक झाँकी तथा सांस्कृतिक कार्यक्रममा बेलायतमा सक्रिय संघ, संस्थाले मेलामा सहभागिता जनाउँछन् । नेपाली राजदूतावास लन्डन तथा तमु धीं युकेको सहकार्यमा मेला हुँदै आएको छ । मेलामा विभिन्न व्यावसायिक, खुद्रा पसल,च्यारिटीलगायत स्टल राख्ने चलन छ ।
नेपाली मेलाको चहलपहल सुरु भइसकेको उपाध्यक्ष गुरुङले बताए । ‘गोर्खा कप भर्खर सम्पन्न भएको छ । उधारो ल्याएको सामानको पैसा तिर्न भ्याएकै छैन । ऐँचोपैँचो गरेको पैसाको हरहिसाब मिलाएकै छैन । थाहै नपाई नेपाली मेलाको चहलपहल प्रारम्भ भइसक्या रहेछ क्यारे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फोनको घण्टी बज्न सुरु भयो । नेपाली मेला, स्टलको बुकिङ खुलेको छ कि छैन भनी सोध्न थाल्नुभएको छ ।’
बेलायतवासी नेपालीहरूको सहभागिताको लागि सम्पूर्ण विवरणसहित अविलम्ब सम्प्रेषण गरिने भन्दै उपाध्यक्ष गुरुङले प्रतीक्षा गर्न आग्रहसमेत गरेका छन् ।
बेलायतमा रहेका नेपाली समुदायबीच चर्चित यस नेपाली मेलामा व्यापक जनसहभागिता हुने गरेको छ ।