लन्डन । बेलायतको रिडिङ शहरमा गुरुङहरूको पहिचान बोकेको संस्कृति नाच घाटु नाचिएको छ ।
बाघेता समाज युकेको आयोजनामा गरिएको वार्षिक गृष्मकालीन भेलामा गत शनिबार घाटु नाचिएको हो । नेपालका गुरुङ गाउँ बस्तीहरूमा वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) का अवसरमा नाचिने सती घाटु, कुसुण्डा घाटु र बाह्रमासे घाटुमध्येको बाह्रमासे घाटु प्रस्तुत गरिएको थियो ।
बाघेता समाज उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकाका तीन वटा वडाहरू बाहुनडाँडा, घेर्मु र ताघृङबाट बेलायत आएर बसोबास गरेकाहरू सदस्य रहेको संस्था हो ।
गुरुङ समुदायको भाषा, भेषभूषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नृत्य आयोजना गरिएको हो । सो अवसरमा रोधी कार्यक्रम गरी गुरुङ गाउँघरको मौलिक माहौल बनेको थियो । रोधी घरमा रिमै थुमै जम्मा भएर नाचिएको थियो ।
नेपालका गुरुङ बस्तीमा वसन्त पञ्चमीबाट नाच्न सुरु गरिने यी घाटुहरू वैशाख पूर्णिमामा खवै खाएर विभिन्न रमाइला कार्यक्रम गरेर सम्पन्न गरिन्छ ।
उक्त दिन बाघेता समाज युकेको निमन्त्रणा बेलायतको सांगितिक भ्रमणमा रहेकी उदीयमान गायिका, मोडल तथा नृत्यांगना खुश्बु गुरुङले समेत नृत्य तथा गीत प्रस्तुत गरेर मनोरञ्जन गराइन् ।
सोही दिन समाजले च्यारिटी कार्यक्रम गरेर सहयोगसमेत संकलन गरेको थियो । बाघेता क्षेत्रको घुर्मु वडा कोस्यो डाँडामा अवस्थित छैलुङ गुम्बाको भौतिक संरचना निर्माणका आयोजना गरिएको च्यारिटीमा मनकारीहरूले गरेको सहयोगबाट १५ लाख रुपैयाँ रकम संकलन भएको थियो ।
बाघेताका सदस्यहरूले केही महिनाअघि दिङदिङका मिर्गौलापीडित कृष्ण गुरुङलाई २ लाख ३९ र आगलागीपीडित तल्लो चिप्लाका लपटी घले गुरुङलाई ३ लाख २१ हजार ६६५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।