लन्डन । प्हच्यु भाइखलक युकेको छोरी ज्वाइँ भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
गत शनिबार १८ मे २०२४ मा बेजिङस्टोकस्थित अलवर्थ स्कुलमा प्हच्यु भाइखलक युकेले विगतका वर्षझैं यस वर्ष पनि युकेवासी आफ्ना छोरीहरू र ज्वाइँहरूको भेटघाट कार्यक्रममा सम्पन्न गरेको हो । कार्यक्रम सुरुआती चरणमा प्हच्यु भाइखलकको पितृपूजाका लागि क्होईबोधीं स्थापना गरिएको थियो । सधैं पार्टीमा खाना खानुअघि पितृलाई ज्येष्ठ प्हच्यु साथै अध्यक्षद्वारा खाना चढाई पूजा अर्चना गरिने चलन विधि पूरा गरेर अन्य कार्यक्रम सुरु गरिएको थियो ।
महासचिव पहलमान प्हच्युले संचालन गरेको कार्यक्रममा एक मिनेट मौनधारण र सेफ्टी ब्रिफपछि नेपाली राष्ट्रिय गान तथा युकेको राष्ट्रिय गान बजाइएको थियो ।
अध्यक्ष जगत प्हच्युले स्वागत मन्तव्य राख्दै प्हच्यु भाइखलक युकेको स्थापना कहिले र कसरी भयो भन्नेबारेमा जानकारी दिएका थिए ।
प्हच्यु भाइखलकले बर्सेनि वैशाख पूर्णेको अवसरमा छोरीहरू तथा ज्वाइँहरूलाई निम्तो गर्छन् । भेटघाट कार्यक्रममा चेली र ज्वाइँहरू सबै मिलेर कोसेलीको साथ माइती भेट्न आएको दृष्य रमाइलो देखिएको थियो । कोसेली नल्याउन छोरीहरू तथा ज्वाइँहरूलाई आग्रह गरिए पनि आफ्नो संस्कार, संस्कृति जोगाउने उद्देश्यले माइती आउँदा रित्तो हात आउन अप्ठेरो हुने भन्दै कोसेली बोक्ने चलन यथावत् रहेको प्हच्यु भाइखलक युकेले बताएको छ ।
सांगीतिक कार्यक्रम नेपालबाट आमन्त्रित लोकदोहोरी गायिका सबिना प्हच्युको नृत्यबाट सुरु भएको थियो । अरु तीन जना भान्जाभान्जीहरु र छोराछोरीको नृत्यपछि लगातार सविनाको सुरिलो स्वरमा सबैले नाचेर मनोरञ्जन लिएका थिए ।
बेलुकी सात बजेपछि चेलीहरूबाट सबिनालाई क्रमु ओढाई सम्मान गरिएको थियो भने सबिनाबाट पनि दिदीबहिनीहरुलाई फुर्के डोरीले सम्मान गरेकी थिइन् ।
कार्यक्रमको टिकेटिङ कोषाध्यक्ष सुशील प्हच्युले बन्दोबस्त गरेका थिए । पिय पदार्थ भद्र प्हच्युले र मीठो खाना गोर्खा क्याटरिङ एण्ड सर्भिस् लिमिटेड अल्डरसटका विष्णु गुरुङले सप्लाई गरेका थिए ।
कार्यक्रमको आकर्षणको रुपमा भाग्यशाली चिट्ठा (राफल ड्र) सञ्चालन गरिएको थियो । प्रथम पुरस्कार आधा तोला सुन थियो । जसको प्रायोजक विष्णु गुरुङ गोर्खा क्याटरिङ एण्ड सर्भिस् लिमिटेडले गरेको थियो भने दोस्रो पुरस्कार २ सय पाउन्ड प्हच्यु भाइखलकले र तेस्रो पुरस्कार १ सय पाउन्ड प्हच्यु भाइखलक युकेको प्रायोजन रहेको आयोजकले जनाएको छ ।
मध्याह्न १२ बजे आसपास सुरु भएको कार्यक्रम राति १० बजेतिर सकिएको थियो ।