लन्डन । बेलायतमा कार्यरत प्राज्ञिक तथा पेसाकर्मीहरूको संस्था, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको नवौँ वार्षिक साधारणसभा आइतबार प्लमस्टीडमा सम्पन्न भएको छ ।
सोसाइटीका अध्यक्ष इ. विष्णु न्यौपानेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा महासचिव डा. ओमप्रसाद गौतमले सन् २०२२-२४ मा संस्थाले गरेका गतिविधिबारे जानकारी गराएका थिए । कोषाध्यक्ष शम्भुनाथ अधिकारीले समाजको आयव्यय विवरण प्रस्तुत गरेका थिए। सामान्य छलफलपश्चात् सभाले दुवै प्रतिवेदन पारित गर्यो ।
अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा सघाउने कार्यसमिति, संरक्षक परिषद्, सल्लाहकार र सदस्यहरू सबैलाई धन्यवाद दिए । त्यसपछि निर्वाचन समितिले नयाँ कार्य समितिका लागि निर्वाचन कार्यक्रम सुरु गरेको थियो ।
नयाँ कार्य समितिको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको थियो । अध्यक्षका लागि निवर्तमान उपाध्यक्ष गजेन कटुवाल तथा महासचिव डा. ओमप्रसाद गौतमले उम्मेदवारी दिएका थिए । वार्षिक साधारणसभामा उपस्थित सदस्यले मतदान गरेपछि घोषित नतिजा अनुसार कटुवाल झन्डै ६० प्रतिशत मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए ।
उपाध्यक्षमा डा. रामजी पौडेल, महासचिवमा डा. बिदुर घिमिरे, सचिवमा शम्भुनाथ अधिकारी, कोषाध्यक्षमा रञ्जन विष्ट तथा सदस्यहरूमा जमुना न्यौपाने कोइराला, लीला रेग्मी, पूर्ण रोक्का, राजु न्यौपाने, रामहरि हमाल र शिक्षा बराल चयन भएका छन् ।
निर्वाचन समितिका सदस्य अर्कराज तिमिल्सिनाले नवनिर्वाचित कार्य समितिलाई शपथ गराए । निर्वाचन समितिका संयोजक इ. श्याम थापाले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष कटुवालले निवर्तमान कार्य समितिले सुरु गरेका दोहोरो नागरिकतासम्बन्धी प्राज्ञिक अध्ययनलगायत कामलाई टुंगोमा पुर्याउने र संस्थालाई एकजुट बनाएर लैजाने प्रतिबद्धतासमेत जनाए ।
सोसाइटीअन्तर्गत गठित नेप्लिज युथ नेटवर्कलाई आफ्नो सम्पूर्ण साथ सहयोग रहने बताउँदै उनले नयाँ कार्य समितिलाई सहयोग गर्न अपिल पनि गरे ।
सन् २००८ मा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको स्थापना गरिएको थियो ।