लन्डन । मानव सेवा आश्रम सहयोगार्थ बेलायतबाट १ करोड ५० लाख रुपैयाँ जुटेको छ । समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा उक्त सहयोग जुटाएर नेपाल फर्किएकी छन् ।
संगीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित आनी छोइङ डोल्मा मानव सेवा आश्रमको योजनालाई सघाउन बेलायत आएको थिइन् । आश्रमले नेपाललाई २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने संकल्प लिएको छ ।
मे ५ मा बेलायतको क्याम्बर्लीस्थित कन्ट्री क्लबको हलमा आयोजना भएको ‘इनर मेलोडी फर इनर पिस’ लाइभ कन्सर्ट र त्यसलगतै विभिन्न स्थानमा भएको ‘मिट एन्ड ग्रिट’ कार्यक्रमबाट १ करोड पचास लाख रुपैयाँ सहयोग जुटेको हो ।
कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्यान्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रृलंकन दूतावासमा मिट एन्ड ग्रिट कार्यक्रम भएको थियो ।
जसमध्ये ५२ लाख रुपैयाँ टिकट बिक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैयाँ आनीको अटोवायोग्राफी पुरस्कृत फूलको आँखामा बिक्रीबाट संकलन भएको हो । यस दौरान ५ जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवन निर्माणका लागि एक कोठा निर्माण सहयोगस्वरुप ५ लाख ११ हजार १११ रुपैयाँ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष श्रीवृद्धिका लागि १ लाख ११ हजार १११ रुपैयाँ योगदान गरेका छन् ।
यस्तै, मासिक ८ हजार रुपैयाँ योगदान गर्नेगरी १७ जना बालबालिकाको र मासिक ५ हजार योगदान गर्नेगरी ३ आमाबुबाको मासिक खर्च योगदान गरी २२ जनाले बेसहाराको अभिभावकत्व ग्रहण गरेका छन् ।
विदेशी आयोजकले कन्सर्ट गराउँदा एक कन्सर्टका लागि करोडसम्म बुझ्ने गरेको आनीले यस पटक भने नि:शुल्क प्रस्तुति दिएकी थिइन् । यस्तै, उनले पुस्तक बिक्रीबाट प्राप्त भएको ८ लाख ४१ हजार रुपैयाँसमेत मानवसेवा आश्रमकै सेवाका लागि समर्पण गरेकी छन् । यसरी मानवीय कार्यमा आश्रमसँग सहयात्रा गर्दा आफूलाई गौरवान्वित महसुस भएको आनीको भनाइ छ ।
उक्त कन्सर्ट र यात्राले मानवता प्रवर्धनमा टेवा पुर्याएको आयोजकको निष्कर्ष रहेको छ । खर्च कटाएरै मानवसेवा आश्रमको सेवाको लागि यस कार्यक्रमबाट १ करोड ५० लाख रुपैयाँ नेपाल पठाइने मानवसेवा आश्रम बेलायत च्याप्टरले जनाएको छ ।
मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानवसेवा आश्रम युके च्यापटरले च्याप्टर गठन भएको १ वर्ष नपुग्दै बेलयतबासी नेपालीको मन जित्न सक्नेगरी कन्सर्ट आयोजना गरी सहयोग जुटाउन सकेकोमा धन्यवाद दिए । २०८२ सालभित्र नेपाल सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश घोषणा भएरै छाड्ने उनको भनाइ छ ।
मानव सेवा आश्रमले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्प लिएको छ।
आश्रमले उक्त संकल्प पूरा गर्न नेपालका सातै प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालनमा ल्याई ७७ वटै जिल्लाबाट सहयोगापेक्षीको उद्धार गरिरहेको छ । हालसम्म १० हजार बढीको उद्धार गरी तिनको मानवोचित व्यवस्थापन गरिसकेको छ । हाल देशरभर रहेका आश्रमका सेवाकेन्द्रमा १ हजार ६५३ जना आश्रित छन् ।