टोकियो । जापानमा आएर स्थायी/अस्थायी रूपले बसोबास गरिरहेका गुरुङहरू संगठित भएका छन् । आपसी सद्भाव एवं भ्रातृत्व अभिवृद्धिका साथै ‘प्ये ताँ ल्हु ताँ’मा आधारित भाषा, धर्म, भेषभूषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धनका लागि ‘गुरुङ समाज जापान’ गठन गरेका हुन् ।
टोकियोमा सम्पन्न समाजको प्रथम ऐतिहासिक अधिवेशनले युवराज गुरुङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । ‘भाषा, धर्म, भेषभूषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्द्धन हाम्रो अभियान’ नाराका साथ अधिवेशन सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षमा चन्द्र गुरुङ, प्रकाश कोके गुरुङ र आशिष गुरुङ, महासचिवमा मोती गुरुङ, सचिवमा पदम गुरुङ, कोषाध्यक्षमा राम गुरुङ र सह कोषाध्यक्षमा कुमार गुरुङ चयन भएका छन् ।
यसैगरी, सदस्यमा कौशल गुरुङ ,प्रीति गुरुङ, जमुना गुरुङ, जेबी गुरुङ, याम गुरुङ, आशिष गुरुङ, सोमन गुरुङ, महादेव गुरुङ, विष्णुमाया गुरुङ, दीपक घले, जगदीश गुरुङ, टुम गुरुङ,आष्मा गुरुङ, प्रेम गुरुङ र सुमन घले रहेका छन् ।
टोकियोको सिनओकुबोस्थित नेपाली मुराहल सोलमारीमा आयोजित अधिबेशनमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समिति, संरक्षक परिषद्का अध्यक्ष रेशम गुरुङ र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिका सहमहासचिव मनोज गुरुङलगायत उपस्थित थिए ।
नवनिर्वाचित अध्यक्ष गुरुङले जापानमा आएर बसोबास गरिरहेका गुरुङहरूबीच आपसी सद्भाव एवं भ्रातृत्व अभिवृद्धिका साथै कला र संस्कृतिको संरक्षण गर्दै सामाजिक तथा आर्थिक विकासमा संगठित रूपले अगाडि बढ्न सामाजिक संस्थाको आवश्यकता महसुस भएकाले समाज स्थापना गरिएको बताए । अध्यक्ष गुरुङले जापानमा रहेका सबै संघसंस्थासँग समन्वय र सहकार्यका लागि अनुरोधसमेत गरे ।