लन्डन। बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले खैबा कर्म सुनाम लामालाई बिदाइ गरेको छ । गत जनवरीदेखि गुम्बामा रहेर भक्तजनको सेवा गर्दै आएका खैबालाई सोमबार बिदाइ गरिएको हो ।
काठमाडौँस्थित सेचेन गुम्बाको थान्का चित्र कलाकारसमेत रहेका खैबा लामालाई बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङसहित कार्यसमिति, भक्तजन र आमाहरूले खादा लगाइदिएका थिए ।

यसअघि गत १३ अप्रिलका दिन सिंगो कार्यसमिति, आमाहरू, शुभचिन्तक एवं भक्तजनको विशेष उपस्थितिमा औपचारिक रूपमा बिदाइ गरिएको थियो । सो क्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले मायाको चिनो प्रदान गरेका थिए । खैबा कर्मले बेलायत बसाइका क्रममा आफूले पाएको साथ, सहयोग र मायाको लागि धन्यवाद दिँदै गर्दै बीसीसी युकेका अध्यक्ष गुरुङलाई आफूले कोरेको चित्र उपहारस्वरूप प्रदान गरेका थिए ।
सरल स्वभावका खैबा लामालाई सोमबार बिहान बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ तथा मीन गुरुङ, जयन्ती गुरुङलगायत गुम्बा परिवारले बिदाइ गरेका थिए ।

त्यस्तै, बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, आमा सहसचिव पवित्र गुरुङ र शुभचिन्तक जयन्ती गुरुङ बिदाइका लागि हिथ्रो विमानस्थलसम्म पुगेका थिए ।