लन्डन । रेडिङ्ग उडलीस्थित बौद्ध गुम्बामा चर्चित गायिका तथा समाजसेवी आनी छोइङलाई भव्य स्वागत गरिएको छ ।
गत आइतबार अपरान्ह आयोजित कार्यक्रममा गुम्बाका पदाधिकारीहरुले हार्दिक स्वागत गरे । गुम्बाका अध्यक्ष खेम गुरुङले गुम्बाले स्थानीय समुदायको हितमा गरेका कामहरुबारे जानकारी गराए। उनले सन् २०१९ मा उक्त गुम्बाको निर्माणको लागि एउटा सांगीतिक कार्यक्रम गरेर सहयोग जुटाइ दिएकोमा उनले आनी छोइङप्रति हार्दिक आभार व्यक्त गरे। आफ्नो मन्तव्यमा आनीले खुसी भएर जीवन जिउने कलाबारे चर्चा गरिन् ।
कार्यक्रमको संचालन सचिव उषा गुरुङले गरेकी थिइन् भने आमा समूहकी अध्यक्ष रजनी गुरुङले सहभागी सबैलाई धन्यवाद दिइन्।
नेपाली दूतावासमा अन्तरक्रिया
आइतबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै समाजसेवी आनी छोइङले मानिसहरु अहिले पैसा, पद र प्रतिष्ठाको पछाडी दौडी रहेको तर मनमा शान्ति भने पाउन नसकेको बताइन्। अहिले मानिसहरुमा डिप्रेशन, एक्लोपन जस्ता समस्या देखिएको भन्दै आनीले करुणाको अभावले नै त्यस्तो समस्या देखिएको बताइन्। 'करुणाको भावले स्वास्थ्यमा सुधार ल्याउँछ र मनस्थिति सन्तुलित तुल्याउँछ,' उनले भनिन् ।
सेवा र सत्कर्मबाट असहाय सडक आश्रित मानिसहरुको सेवा र स्याहार गर्ने संस्था मानव सेवा आश्रमको भवन बनाउन सहयोग जुटाउन हाल बेलायतको भ्रमणमा रहेकी आनी छोइङ्गले मानव सेवा आश्रम सेवा, सद्भाव र करुणाले भरिपूर्ण मन्दिर भएको बताइन्। "त्यहाँ स्वयंसेवी सबै युवा हुनु हुन्छ। उहाँहरुको सेवाभाव बाट म अत्यन्तै प्रभावित भएँ। मानव सेवा आश्रमसंग जोडिन पाउँदा म साह्रै खुसी छु," उनले भनिन्।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आउँदो दुइ वर्ष (वि सं २०८२) भित्र 'सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल' घोषणा गर्न आफु हरुले अनवरत काम गरि रहेको बताए। उनले २०६९ भाद्र १२ गते स्थापित मानव सेवा आश्रमले अहिले सम्म १० हजार जना भन्दा बढी बाबाआमाको उद्धार गरिसकेको बताए। उनले अहिले सातै प्रदेशका १९ जिल्लामा रहेका २४ ओटा सेवा केन्द्रहरुमा झन्डै १७०० बाबा आमा र बाबु नानीहरुलाई खाना, नाना, छाना र बालबालिकाको लागि पठनपाठनको व्यवस्था गरिएको जानकारी दिए ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा सामाजिक सेवाको भावना जगाउन मानव सेवा आश्रमले थालेको अभियान उदाहरणीय रहेको बताए। उनले यस्तो अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरे। "करुणा र दया हाम्रो पूर्वीय दर्शनको संदेश हो। सर्वप्रथम सडकमा जाने अवस्था रोक्न पनि हामीले काम गर्नु प यो," राजदूत आचार्यले भने। उनले २०८२ मा सडक आश्रित मानवमुक्त नेपाल घोषणा गर्ने मानव सेवा आश्रमको अभियान सफल होस् भन्ने शुभकामना पनि दिए ।
मानव सेवा आश्रम युकेका सल्लाहकार शिवजी श्रेष्ठले स्वागत व्यक्त गरेको अन्तरक्रियाको संचालन लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् । आनी छोइङले गत साता नेपालमा मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ आयोजित एक भव्य सांगीतिक समारोहमा प्रस्तुती दिएकी थिइन् ।