लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले गायिका तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्मालाई स्वागत तथा सम्मान गरेको छ ।
मानव सेवा आश्रम बेलायतको निमन्त्रणमा यहाँ आएकी आनीलाई गत शनिबार ११ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत तथा सम्मान गरिएको हो । उनलाई बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा कार्यसमिति, आमा प्रमुख जगना गुरुङ तथा आमाहरु, ट्रष्टी मेम्बर्स, सल्लाहकारलगायत भक्तजनले पुष्पगुच्छाले स्वागत गरेका हुन् ।
कार्यक्रममामा आनी डोल्माले बीसीसी युकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिँदै उनले भनिन्‘मानव सेवा नै धर्म हो, बुद्धको शिक्षा भनेको ज्ञान सिकाउने हो, सबैलाई समान व्यवहार गर्ने हो, दीनदुःखीहरुको सेवा गर्ने हो ।’। साथै, उनले, मानव सेवा आश्रम नेपालले एकदमै राम्रो काम गरिरहेको बताउँदै सकेको सहयोग गर्न आग्रह गरिन् ।
सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले आनी डोल्मालाई स्वागत गर्दै बीसीसी युकेले गर्दै आएको विभिन्न सामाजिक, धार्मिक एवं परोपकारी कार्यबारे जानकारी गराए । साथै, उनले आउने २३ मे का दिन विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको बताए ।
त्यस्तै, महासचिव मेजर हितमान गुरुङले आनी छोइङ डोल्माको छोटो परिचय दिँदै आनी छोइङले नि:स्वार्थ भावनाले बुद्धको अनुयायीको रुपमा परोपकारी कामहरु गर्दै आइरहेको उल्लेन गरे । उनले आनी डोल्माले दया, माया र करुणाका साथ थुप्रै बालबालिकाहरुको शिक्षा, वृद्धवृद्धाहरुको हेरचाहलगायतको क्षेत्रमा समेत धेरै सहयोग गरिरहेको जानकारी दिए ।
करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म सुनाम लामा, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्वअध्यक्ष नरेश गुरुङ, पूर्वअध्यक्ष धर्म तामाङ, सल्लाहकार जंगबहादुर गुरुङ, तमु धीं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका पूर्वअध्यक्ष मिन गुरुङलगायत बीसीसी युकेका ट्रष्टीज, सल्लाहकार, भक्तजन, शुभचिन्तकलगायत आमाको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।