लन्डन । इंग्ल्यान्ड ‘सी’सँग मैत्रीपूर्ण खेल खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियल, आयोजक, स्वयंसेवक र प्रायोजकलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ ।
बिहीबार दूतावासमा एक रात्रि भोजको आयोजना गरी राजदूत ज्ञानचन्द्र आचार्यले खेलाडीसहित खेल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई खादा र मायाको चिनोले सम्मान गरेका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीले तथा सोमबार इंग्ल्यान्ड ‘सी’सँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
उक्त खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम र इंग्ल्यान्ड एफएका नेसनल लिग प्रमुख लरेन्स जोन्सलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी, एनआरएनए युकेका पूर्वअध्यक्ष एवं गोर्खा प्यालेस रेस्टुरेन्टका प्रोपाइटर सुर्य गुरुङ, तमु धीं युकेका उपाध्यक्ष तथा नेपाली समुदायका तर्फबाट संयोजक कमल कोने गुरुङ, टिकट संयोजक तथा सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङ र पोखरा बगर भाईखलक युकेका अध्यक्ष दिलरास गुरुङलाई सम्मान गरिएको थियो ।
सो अवसरमा खेल सम्पन्न गर्न आर्थिक सहयोग गर्ने समाजसेवी रवि लामिछाने, विकास नेपाल र रोशन गुरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै राजदूत आचार्यले यस खेलले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न सहयोग पुगेको जनाए ।
टिम मेनेजर उत्तम राजभण्डारी, नेपाली टिमका कप्तान किरण चेम्जोङ लिम्बू, अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम, इंग्ल्यान्ड एफएका नेसनल लिग प्रमुख लरेन्स जोन्स र नेपाली समुदायका तर्फबाट एनआरएनए युकेका पूर्व अध्यक्ष सुर्य गुरुङले पनि मन्तव्य राखेका थिए ।
अल्डरसट एफसी अध्यक्ष साहिद अजिमले खेल सफल पार्न नेपाली पक्षबाट प्राप्त साथ, सहयोगप्रति आभार प्रकट गरे । उनले खेलको सोच बनाएर सुरुमा एनआरएनए युकेका पूर्वअध्यक्ष सुर्य गुरुङसँग भेटेको पनि स्मरण गरेका थिए । त्यसयता आफूलाई निरन्तर साथ र हौसला दिने नेपाली समुदायका सबैलाई उनले धन्यवाद दिए ।
उनले पनि खेल सफल पार्न खटिएका नेपाली समुदायका स्वयंसेवक र प्रायोजकहरूलाई कदरस्वरुप मायाको चिनो वितरण गरेका थिए।
नेपाली समुदायको तर्फबाट बोल्दै एनआरएनए युकेका पूर्वअध्यक्ष सुर्य गुरुङले नेपाली राष्ट्रिय टोलीलाई इंग्ल्यानेडमा खेल प्रदर्शन गर्ने अद्भुत अवसर प्रदान गरेकोमा इंग्ल्यान्ड एफए, ह्याम्पसायर एफए र आर्मी एफएप्रति आभार व्यक्त गरे ।
‘आशा छ कि तपाईले भविष्यमा हाम्रो महिला राष्ट्रिय टोलीको लागि पनि यस्तै गर्नुहुनेछ,’ उनले भने । यस्तै, उनले नेपाली खेलाडीलाई एल्डरसट एफसीबाट खेल्नको लागि अवसर दिनेमा आफू आशावादी रहेकोसमेत सुनाए ।
नेपाली टोलीले स्वयंसेवक र दूतावासका अधिकारीहरूलाई राष्ट्रिय टोलीको जर्सी उपहार दिएको थियो । कार्यक्रमको सञ्चालन लन्डन दूतावासकी उपनियोग प्रमुख खनालले गरेकी थिइन् ।