पोखरा । लामो समयदेखि राजनीति र कलाकारितामा सक्रिय कास्कीका वेदबहादुर गुरुङ ‘श्याम’ दोस्रो पटक मन्त्री बनेका छन् ।
गुरुङलाई सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हाल्ने गरी मन्त्रीमा नियुक्त गरेका हुन् । उनी यसअघि कृषिमन्त्री थिए । गुरुङले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सोमबार नै पोखरा सभागृहमा पद तथा गोपनियताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्री गुरुङ आठ कक्षा पढ्दा पढ्दै विस २०४५ सालमा अखिलमा आबद्ध भएका थिए । पञ्चायत नै अन्याय, अत्याचार, शोषण, दमन, अभावको जड हो भन्ने कुरा बुझ्न थाले अनि पञ्चायत विरुद्ध भोकै लडे । त्यसपछि बल्ल उनले सपना देख्न थाले – मुलुकलाई सही दिशामा लैजान राजनीतिमा होम्मिने । बुबा टेकशाही गुरुङ र आमा काँबिरी गुरुङको कोखमा २०२७ साल जेठ २३ गते शुक्रबार तत्कालीन नामर्जुङ गाबिस वडा नम्बर ५ पण्डित टोल हालको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा जन्मेका हुन् ।
बालक अवस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील, निडर, फरासिला स्वभावका बेदबहादुर ०६२/०६३ सालको आन्दोलनमा २१ दिन हिरासतमा बिताएका थिए । कलाकारिता जीवन उनलाई कुशल राजनीतिककर्मी मात्र नभई कलाकारको दृष्टlकोणबाट पनि चिन्ने गर्छन् । राजनीतिसँगै लामो समय कलाकारितामा लागेका बेदबहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् । विशुद्ध गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका छन् । सिनेमा मात्र नभई गुरुङ संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन् ।
२०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका थिए । त्यसपछि गोठालोमा अभिनय गरे । गोठालोमा समावेश गरेको आशामारा चुरोट बोलको गीतमा नृत्य गरे जुन चर्चित गायक युक्त गुरुङले गाएका थिए। त्यसपछि उनको कलाकारिताको चौतर्फी गुनगान हुन थाल्यो। पछि आफ्नै निर्देशनमा हाम्रो गाउँ घर नामक गुरुङ चलचित निर्माण गरे । उनले दर्जनौँ चलचित्र निर्माण गरेका छन्। त्यसकै कारण उनी निकै लोकप्रिय छन् ।
उनले गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था जिफान अर्थात गुरुङ फिल्म एसोसियसनमा अध्यक्ष रुपमा काम गरेर समेत आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन्। उनी जिफानमा दुई कार्यकाल अध्यक्षका जिम्मेवारी बहन गरिसकेका छन् ।