लन्डन । रोचेस्टर स्विप्स महोत्सवको ४२औँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ । मेडवेको पुरानो ऐतिहासिक शहर रोचेस्टरको गिल्डहल म्युजियम फोरकोर्ट बाहिर तीन दिनसम्म चलेको महोत्सवको शनिबार मेडवेकी मेयर काउन्सिलर निना गुरुङले उद्घाटन गरेकी थिइन् ।
पहिलो महिला नेपाली मूलकी मेयर रहेकी उनले कार्यक्रम सफलताको शुभकामनासहित नृत्य प्रदर्शनसमेत गरेकी थिइन् । भव्य र सभ्य बनेको कार्यक्रममा मोरिस कलाकारले प्रस्तुति दिएका थिए । सहभागीको उपस्थितिले घण्टी, मौलिक लोक धुन, बाजा र अन्य सांगीतिक धुनसहित रोचेस्टरको शहर तथा रोचेस्टर क्यासलको प्रांगण भरिएको थियो ।
मोरिस कलाकारले रंगीबिरंगी पहिरन, अनुहार पोतेर विभिन्न रंगमा सजिएर कोही बाजासहित त कोही लाठी बोकेर लोक धुन र संगीतमा मौलिक लोक नृत्य प्रस्तुत गरेका थिए ।
महोत्सवस्थलमा युरोपदेखि मात्र नभई दक्षिण एशिया र अफ्रिकाबाटसमेत आएका थिए । महोत्सव विश्वको विभिन्न स्थानका लोक गीत र नृत्यको संगमस्थल बनेको थियो ।
यो वर्ष पहिलो पटक गोर्खा नेपाली समाज मेडवेलाई पनि स्विप्स फेस्टिभलमा सहभागिताको अवसर प्राप्त भएको थियो । त्यसको सदुपयोग गर्दै नेपाली लोक गीतमा दुई वटा सोलो नृत्य, गोर्खालीको पहिचान एडभान्स खुकुरी प्याटर्न, किरात राईहरूको साकेला तथा गोर्खालीबारे, नेपाल र नेपाली सामाग्रीको प्रदर्शनी प्रस्तुत गरेर नेपाली संस्कार, लोक नृत्य र संगीतको प्रस्तुति दिएर बलियो उपस्थिति जनाउन सफल भएको छ ।
साकेला नृत्यमा स्थानीय र महोत्सवमा सहभागीसमेत ढोल र झ्याम्टाको तालमा ताल मिलाउँदै साकेलामा रमाएको दृश्य लोभलाग्दो थियो । महोत्सवमा नेपाली उपस्थितिले नेपालको पर्यटनमा टेवा पुग्ने र स्थानीयबीच नेपाली संस्कार संस्कृति, संगीत र कलाबारे जानकारी दिन सफल बनेको उपाध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिए ।
मेडवेकी मेयर काउन्सिलर गुरुङले नेपाली मूलकी पहिलो महिला मेयर भएर कार्यक्रमको उद्घाटन गर्न पाउनु गर्वको कुरो रहेको बताइन् । उनले पर्यटकलाई मेडवे भ्रमणको निम्तोसमेत दिइन् । ‘मेडवे हरियाली र भ्रमण गर्दै हेर्न लायक शहर हो । यहाँ आएर भ्रमण गरेर आनन्द लिन म सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।
गोर्खा नेपाली समाज मेडवेका सल्लाहकार शिवराम राईले आफूले १४ वर्ष उमेरदेखि नाच्दै आएको साकेला युकेको रोचेस्टर स्विप्स महोत्सवसम्म नाच्न पाउनु गर्वको कुरा भएको बताए ।
साकेला संयोजक श्रीमती चन्द्रावती राईले गैर राई र पहिलो पटक सिकेर छोटो समयमा पनि राम्रो साकेला प्रस्तुत गर्न सघाउने सबैलाई धन्यवाद दिइन् ।
बैंक होलिडेको लामो सप्ताहान्तको तीन दिने महोत्सवमा विभिन्न ब्यान्डहरूले गीत संगीत प्रस्तुत गरेका थिए । विभिन्न पेय, खानाको स्टलदेखि विविध सामाग्रीका स्टलमा सहभागीले किनमेलसमेत गरेका थिए ।
महोत्सवमा ६० हजारभन्दा बढीले सहभागिता जनाएका छन् । मेयर काउन्सिलर गुरुङले समापन समारोहमा बोल्दै कार्यक्रमलाई भव्य बनाउन खटिएका सम्पूर्णलाई धन्यवाद दिइन् । प्रवेश नि: शुल्क रहेको महोत्सवमा मनोरञ्जन लिँदै छुट्टी मनाउन परिवारसहित भेला हुन उनको आग्रह थियो ।
स्विप्स फेस्टिभलका सुरुआतकर्ता गोर्डन न्युटनलाई मायाको चिनो दिँदै कार्यक्रम सफलताको बधाई दिँदै कार्यक्रम सुरु गरेकाप्रति मेयरले धन्यवाद दिइन् । सन् १९८१ सालमा गोर्डन न्युटनले रोचेस्टर स्विप्स महोत्सवको सुरुआत गरेका थिए । हरेक वर्ष मेडवे काउन्सिलसँगको सहकार्यमा यो महोत्सव आयोजना हुने गरेको छ ।