कुवेत । तमु समाज कुवेतको आयोजनामा बृहत् आठौँ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा भएको कार्यक्रममा १०९ जनाले रक्तदान गरेका थिए । समाजका अध्यक्ष राजु गुरुङको अध्यक्षता तथा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
विशिष्ट अतिथि एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. सम तथा अतिथिहरूमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ रहेका थिए । नेपाली दूतावास परिवार, कुवेतका विभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकार तथा स्वयंसेवी रक्तदाताको उल्लेख्य उपस्थिति थियो ।
अध्यक्ष, प्रमुख अतिथि र विशेष अतिथिले संयुक्त रूपमा रिबन काटेर कार्यक्रम उद्घाटन गरेका थिए । राजदूत लम्सालले रक्तदानको महत्वलाई प्रस्ट पार्दै मानवीय कार्यमा संलग्न तथा रक्तदान आयोजना गरेकोमा तमु समाज, कुवेतलाई धन्यवाद दिए ।
ब्लड बैंकका प्रतिनिधि डा. समर, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कुवेत अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल, एनआरएनए कुवेतका वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रिनले शुभकामना मन्तव्य दिएका थिए ।
समाजका वरिष्ठ सल्लाहकार तथा कार्यक्रम संयोजक खोप गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष गुरुङले जीवन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीमाझ सचेतना जगाउँदै उत्प्रेरणा जगाउन तम समाज लागिपरेको बताए ।
रक्तदान कार्यमा सहयोग गर्ने नेपाली राजदूतावास तथा नेपाली संघसंस्था र पत्रकारलगायत रक्तदातालाई उनले धन्यवाद दिए ।