लन्डन । तमु धीं युकेले नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियललाई स्वागत तथा सम्मान गरेको छ ।
शुक्रबार तमु धीं भवन मिचेटमा एक कार्यक्रमबीच स्वागत गरिएको हो । संस्थाका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए ।
स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले राखेका थिए । कार्यक्रमको सुरुमा अध्यक्ष गुरुङले खेलाडी तथा अफिसियललाई खादा र मालाले स्वागत गरे । सो क्रममा स्वागतका लागि पाइपसमेत बजाइएको थियो ।
संस्थाका अध्यक्ष हरि गुरुङ, फुटबल टिम क्याप्टेन किरणकुमार लिम्बू र आमा समूहको अध्यक्ष सन्ध्या गुरुङले ‘वेलकम केक’ काटेका थिए । उक्त केक आमा समूहले तयार गरेको थियो ।
सो अवसरमा नेपाल र बेलायत दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । त्यसपछि तमु धीं युकेका हालसम्मका गतिविधि समेटिएको डकुमेन्ट्री देखाइएको थियो । सो क्रममा नेपालबाट आएका चर्चित गायिका सविना गुरुङ र उषा गुरुङलाई पनि स्वागत गरिएको थियो ।
संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने फुटबल टिमका क्याप्टेन र म्यानेजरले न्यानो स्वागतका लागि धन्यवाद ज्ञापन गरेको तमु धीं युकेले जनाएको छ । त्यसपछि खानाको कार्यक्रम भएको थियो ।
अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे । उनले स्वागत तथा सम्मान गर्ने अवसर जुटाइदिएकामा गोर्खा प्यालेस रेस्टुरेन्टका सञ्चालक सूर्य गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ र दिलरास गुरुङलाई पनि धन्यवाद दिए ।
अन्त्यमा, सांगीतिक प्रस्तुतीसमेत भएको थियो । नेपाल टिमले पनि अध्यक्ष र संस्थापक अध्यक्षलाई मायाको चिनो प्रदान गरेका थिए ।