लन्डन । काउन्सिलर दिनेश खड्का इंगल्याण्डको मेडस्टोनबाट तेस्रो कार्यकालका लागि काउन्सिलर पदमा निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा उनी मेडस्टोन बरो काउन्सिलको हाइ स्ट्रीट वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका हुन् । खड्का पछिल्लो पटक सन् २०२३ मा ४ वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए, तर मेडस्टोन बरो काउन्सिलको सीमा परिवर्तनले गर्दा फेरि चुनाव गराइएको थियो ।
पेसाले खाद्य वैज्ञानिक तथा खाद्य विज्ञानमा पीएचडी पुरा गर्ने अन्तिम चरणमा रहेका खड्काले शहरमा स्वच्छ पर्यावरण, सबैका लागि हरियाली, स्थानीय बासिन्दाका लागि गुणस्तरीय आवास र यातायात सेवामा सहज सार्वजनिक पहुँचलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।
विगत ६ वर्षदेखि लिबरल डेमोक्रेटिक पार्टीबाट निर्वाचित काउन्सिलरको रुपमा कार्यरत खड्काले आफ्नो कार्यकालमा स्थानीय सडक मर्मतसम्भार, सार्वजनिक मार्ग पुन: निर्माण, फोहोरमैला व्यवस्थापन, पैदल यात्रु क्रसिङ, पार्क मर्मत, बत्ती जडान जस्ता कामहरू पुरा गरेको बताए ।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय कोलिस मिलेनियम ग्रीन ट्रस्टसँग समन्वय गरी लगभग ४०० बिरुवा रोप्नका लागि जमिन छुट्याउन सकेकोमा मलाई धेरै खुसी लागेको छ,’ खड्काले भने ।
केन्ट प्रहरीमा गएको १५ वर्षदेखि स्वयंसेवी सल्लाहकार साथै स्थानीय ट्रस्टको बोर्ड ट्रस्टीको रूपमा काम गरिसकेका खड्काले सन् २०१७ देखि स्थानीय बेलायती समाजसँग मिलेर होली पर्व मनाउन सुरु गरेका थिए ।