लन्डन । तमु प्ये ल्हु संघ युकेको दोस्रो नियमित बैठक भव्य रुपमा सम्पन्न भएको छ । एम्पायर हल अल्डरसटमा गत शनिबार २७ अप्रिल २०२४ का दिन संघका अध्यक्ष क्या (रि) डेमबहादुर योज तमुको सभापतित्वमा बसेको बैठक सचिव भेग च्हाक्ली तमुले सञ्चालन गरेका थिए भने बैठकमा कार्यसमितिका पदाधिकारीहरु, क्षेत्रीय प्रतिनिधिहरु, आमाहरु, खेगीगुरुहरु, संघका संस्थापक तथा पूर्वाध्यक्षलगायत नवनियुक्त सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
धर्मगुरुहरु पच्यु पैंडी चिवा यारजङ क्रोम्छे तमु र क्ल्हेप्री चिवा दान म्होब्छे तमुले क्होँइबो प्रतीकमा मन्त्रोच्चारण गरी धुप तथा संघको अध्यक्ष, क्या. (रि) डेमबहादुर योज तमु, संस्थापक अध्यक्ष अशोक ल्हेंगे तमु र आमा समूहका अध्यक्ष बबिता प्हच्यु तमुले संयुक्त रुपमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको बैठकमा संघको द्वितीय उपाध्यक्ष अमर त्होर्जे तमुले हेल्थ एण्ड सेफ्टी ब्रिफिङ तथा स्वागत मन्तव्य दिएका थिए ।
सभापतिको आसनबाट अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले बैठकको उद्देश्यबारे जानकारी गराएपछि औपचारिक रुपमा प्रारम्भ भएको बैठकमा सचिवले गत ६ अप्रिल २०२४ मा सम्पन्न बैठकको निर्णय संक्षिप्तमा सुनाएका थिए भने उक्त पूर्ण बैठकले नियुक्त गरेका सल्लाहकार समिति, निर्देशक परिषद्, कम्पनी डाईरेक्टर र ट्रष्टीहरुको औपचारिक घोषणा गरी दहीमा मुछेको चामलको टिका लगाई दिएर क्रेगी तथा पुष्पगुच्छाले सम्मान गरेका थिए ।
तमु प्ये ल्हु संघ युकेका संस्थापक तथा पूर्वअध्यक्ष जगत प्हच्यु तमु प्रमुख सल्लाहकार तथा प्रा. नारायण ल्हेँगे तमु विशेष सल्लाहकार रहने गरी ४३ जनाको सल्लाहकार समिति गठन गरिएको छ भने पाँच सदस्यीय निर्देशक परिषद्मा संयोजक, ले. (रि) कर्णप्रसाद योज तमु, सहसंयोजक सोम त्होर्जे तमुलगायत सदस्यहरु अशोक ल्हेँगे तमु, रनबहादुर टु क्ल्हेप्री तमु र खमिरजङ केप्छे तमु नियुक्त भएका छन् ।
त्यसैगरी कम्पनी डाईरेक्टरमा क्या. (रि) देवराज ङोप्छे तमु, उज्जल टु क्ल्हेप्री तमु, दुर्गादेवी केप्छे तमु, नन्द योज तमु र क्या. (रि) पूर्णबहादुर गरब्ज तमु गरी पाँच जना चयन भएका छन् भने ट्रष्टीहरुमा संघका अध्यक्ष पदाधिकारीहरु छन् । जसमा संयोजक क्या. (रि) डेमबहादुर योज तमु सहसंयोजक भेग च्हाक्ली तमु रहेका छन् भने सदस्यहरुमा पूर्णवीर प्हच्यु तमु, अमर त्होर्जे तमु, डम्बर टु क्ल्हेप्री तमु, याम प्हच्यु तमु र दिलीप तेलैंजे तमु रहेका छन् ।
सातौं कार्यसमितिको कार्यनीति तथा भावी कार्ययोजनाबारे अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले जानकारी गराएको बैठकमा आगामी २९ जुन २०२४, शनिबारको दिनमा सामुयल कोडी स्पोर्ट्स कलेज, फार्नबोरोमा हुने समर भेटघाट तथा समर बीबीक्यु कार्यक्रमबारे पनि छलफल भएको थियो । बैठकले कार्यक्रमको लागि आवश्यक सबै विधाहरुमा छलफल गरी जिम्मेवारी सुम्पिएको छ भने कार्यक्रमको समग्र प्रबन्धतर्फ संघका अध्यक्षले जिम्मा लिने भएको छ ।
त्यसैगरी खानातर्फ खाना संयोजक कृष्णकाजी खक्यु, ड्रिंक्सतर्फ ड्रिंक्स संयोजक केशर प्ल्हेँ, सुरक्षातर्फ सुरक्षा संयोजक चन्द्र योज, प्रचारप्रसार तर्फ सञ्चार संयोजक नेत्र टु क्ल्हेप्री, सांस्कृतिक कार्यक्रमतर्फ सांस्कृतिक संयोजक जुम टु क्ल्हेप्री, खेलकुदतर्फ युवा समिति, सजावटतर्फ आमा समूह, पूजातर्फ खेगी समिति, टिकटतर्फ याम प्हच्यु स्टेज निर्माणतर्फ डब्लुओटु याम क्होला, प्रविधि तर्फ ईन्द्रेश ङोप्छे र सचिवालयतर्फ भेग च्हाक्ली तमुले नेतृत्व सम्हाल्ने भएको छ ।