लाइभ दोहोरी गायनमा चर्चित गायिका मनमाया वाइबा यतिबेला बेलायतको सांगीतिक भ्रमणमा छिन् । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको निमन्त्रणमा १२ अप्रिल २०२४ मा बेलायत आइपुगेकी हुन् मनमाया । उनको यो दोस्रो बेलायत भ्रमण हो । गत वर्ष तातो सिजन जुलाईमा मनमाया धादिङ नुवाकोट समाज युकेको कार्यक्रमका लागि आएकी थिइन् । छोटो समय बसाइपछि फर्किएकी गायिका उनी यसमा केही महिना बस्ने तयारीमा छिन् । लोक तथा दोहोरी गायनबाट आफूलाई स्थापित गर्न सफल गायिका मनमाया वाइबासँग गोर्खा मिडियाको 'हिँड्दा हिँड्दै' कार्यक्रममा मिलन तमुले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :
कस्तो हुँदै छ बेलायत बसाइ ?
जीआरएनसीको कार्यक्रमका लागि आएको हुँ । राम्रो भइरहेको छ ।
कता-कता कार्यक्रम हुँदैछ ?
आउँदो शनिबार ब्रेकन वेल्समा जाँदैछु । अगस्टसम्मका कार्यक्रम बुकिङ भइसकेकी छु । आएको १०/१२ दिनमा ४/५ वटा कार्यक्रम भइसक्यो मेरो । विस्तारै कार्यक्रमहरु बुकिङ भइराखेको छ । जे होस् राम्रै हुँदैछ ।
पहिलो पटक बेलायत आउँदा तपाईं छोटो समय बस्नुभयो । अहिले अलि लामो समय बस्नुहुन्छ होला नि ?
पहिला मेरो एक महिनाको भिसा थियो । एक हप्ता ढिला गरेर आएँ । २० दिनको दिनमै म नेपालै पुगेकी थिएँ । एकदम धपेडी भएको थियो । त्यतिबेला दिनमा दुई/तीनवटा कार्यक्रम गर्नु परेउ । नेपालबाट जुन लुगा लगाएर आएँ त्यहीबाट कार्यक्रममा प्रस्तुति दिँदै हिँडेँ । सपिङ गर्न पनि भ्याइएको थिएन । अहिले कार्यक्रम गर्दै आराम गर्न मिलेको छ । यस पटक अलि लामो समय बस्छु बेलायतमा । छ महिनाको भिसा छ ।
अर्को चोटी भनेको कहिले हो कहिले ? नेपालमा बर्खा पनि लाइसक्यो । यहाँ (बेलायत) मा रमाइलो पनि हुन्छ के ! पहिले म जुलाईमा आएको थियो । न्यानो थियो । यसपालि एकदम जाडो भयो मलाई । अलि छिटो आएछु । अघिल्लो वर्ष आउँदा मनमाया वाइबालाई भेट्नै पाइएन । कति छिटो गएको भन्ने मेरो फ्यानहरुलाई । मलाई माया गर्नुहुने आफन्त, इष्टमित्रहरु सबैलाई सकेसम्म भेटेर, नाचेर, गीत गाइदिएर, नचाइदिएर जाने कोसिस गर्नेछु ।
बेलायतमा रहँदाको अनुभव ?
नेपालमै छु जस्तो लागि रहन्छ । अल्डरसटमा बाटोमा भेट्दा 'ओइ मनमाया यता आइजो त' भन्नुहुन्छ । जहाँ गए नि आमाहरुले समातेर गालामा मोइ खाइहाल्नु हुन्छ । हिजो टुलिफाममा बहिनी (निर्जला गुरुङ) हामी घुम्दै जाँदा धेरै जनाले मनमाया र निर्जला आएका रहेछन् 'हेर्न ओइ हेर्न' भन्दै उहाँहरुले फोटो खिच्नु भयो । तपाईं मनमाया वाइबा होइन ? भन्नुहुँदा एकदम खुसी लाग्यो । एकजना आमाले सधैं गीत हेर्थें आज यहाँ नै भेट्न पाइयो । 'मेरो छोरीलाई महारानी बनाइदिन्छु भनेर टाउकोमा पैसा राखिदिनुभयो ।' तर कस्तो, उहाँको नाम नै सोध्न बिर्सिएछु हतारहतारमा । फोटो पनि खिच्न पाइएन ।
नेपालमा यस्तो माया पाउनुहुन्छ तपाईंले ?
जहाँ गए पनि माया पाउँछु दाइ । त्यस्तै छ । गाउँतिर जाँदा 'ओहो मनमाया आयो । हामीले टीभीमा मात्रै हेर्थ्यौं इन्द्रेणीकी मनमाया । आज घरमै आयौ ।' इन्द्रेणीको टिम नै जान्छौं, हामी सबैलाई चिन्नुहुन्छ उहाँहरुले । अनि फलानो कलाकारसँग तिम्ले यसरी गीत गाएकी थियौ भनेर गाला मसारेको मसारेकै गरिदिनुहुन्छ । म क्रिम लगाएर गएको हुन्छ । आमाहरुले मसार्दा मसार्दा कालो, गोरो हुन्छ गालै । यति टाढा विदेशमा आएर पनि माया पाउनु भनेको एकदमै ठूलो सम्पत्ति कमाएछु भन्ने लाग्छ । एकदमै खुसी लाग्छ ।
युके यात्रापछिको के योजना छ ?
अरु योजना त हुन्न । अलि दिन युकेमा बस्छु । त्यसपछि नेपाल गएर गीत, संगीतलाई नै निरन्तरता दिने हो । मलाई इन्द्रेणीमा कता गयो मनमाया भनिराख्नु भा'छ । मनमाया खोजीराख्ने इन्द्रेणीका दर्शकहरुको अगाडि फेरि जान्छु । युके आउनुभन्दा अगाडि एउटा लोकगीत र अर्को तामाङ सेलो रेकर्ड गरेको थिएँ । सुटिङ गर्न भ्याएको थिएन । अब नेपाल गएर ती गीतहरुको सुटिङ गर्छु । नयाँ गीतहरु गर्नुछ । जहिलेसम्म गीत गाउन सक्छु । जहिलेसम्म दर्शक भगवान्हरुले माया गर्नुहुन्छ त्यो बेलासम्म उहाँहरुसँग गाउने र रमाउने नै हो, इच्छा ।
युकेमै नयाँ गीत गर्न कतैबाट प्रस्ताव आएको छ कि ?
प्रस्ताव त आइसकेको छैन । आयो भने म त्यो मौका गुमाउँदिन । म गाउँछु । यहाँ युकेमा पनि राम्रा-राम्रा कलाकारहरु हुनुहुन्छ । उहाँहरुले अवसर दिनुभयो भने म त्यो अवसर गुमाउँदिन । मेरो आफ्नै चाहिँ नेपालमा गएर मात्रै गर्छु ।
अन्तिममा केही भन्नुहुन्छ ?
पहिलेदेखि नि मिलन दाइले मलाई सहयोग गर्दै आउनुभएको छ, त्यसका लागि गोर्खा मिडिया र यहाँलाई धेरै धन्यवाद । सम्झनु पर्छ, मलाई पहिलोचोटी युके टेकाइदिनु हुने धादिङ नुवाकोट समाज युकेका अध्यक्ष धन पाख्रिन तामाङसहित सिंगो टिमलाई । फेरि पनि ग्रेटर रसमुर नेपाली कम्युनिटीलाई धेरै धेरे धन्यवाद । अध्यक्ष आदरणीय मान गुरुङ, उपाध्यक्ष उत्तरबहादुर गुरुङ, त्यसैगरी दिनेश दाइ, मिलन दाइ, गोर्खा किचनका प्रोपाइटर भीम गुरुङ दाइलाई धेरै सम्मान व्यक्त गर्न चाहन्छु । यहाँ रहँदा, बस्दा धेरै माया गर्नुभएको छ, फडकजीत गुरुङ दाइ, टीका भाउजु र उहाँको परिवारसहित मलाई माया र साथ दिनुहुने सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु ।