पोखरा । पोखरा महानगरपालिकाको युरोपको पहिलो भगिनी शहर बोरो अफ बार्नेट लन्डन बेलायतको प्रतिनिधि मण्डललाई महानगरले बिदाइ गरेको छ ।
बार्नेटका प्रतिनिधि मण्डललाई महानगरप्रमुख धनराज आचार्यले मायाको चिनोसहित खादा लगाएर सोमबार बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा बोरो अफ बार्नेटका काउन्सिलर एवं पूर्वउपमेयर लक्ष्य गुरुङले बार्नेटको भौगोलिक अवस्थिति, जनसाख्यिक अवस्था, विकासको क्रम, निर्वाचन प्रणाली, पालिका सञ्चालन प्रणाली, लोकतान्त्रिक अभ्यासलगायत विषयमा प्रस्तुति गरेका थिए । दुई पालिकाबीचको सम्बन्ध सुदृढ पारेर सहयोग आदानप्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा महानगरप्रमुख आचार्यले आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन र सांस्कृतिक आदान प्रदानका साथै सम्बन्ध सुदृढ हुने जनाए ।
बोरो अफ बार्नेट लन्डनको प्रतिनिधि मण्डलमा काउन्सिलर एवं पूर्वमेयर डा. क्यारोलाइन स्टोक, काउन्सिलर एवं पूर्वउपमेयर लक्ष्य गुरुङ, काउन्सिलर कमल गुरुङ, काउन्सिलर अर्जुनकुमार मित्र, डा. रिचार्ड स्ट्रोकलगायत छन् ।