मिरमिरे साँझ थियो, छोरा आइपुगेछ
गाईलाई घाँस हाल्दै थिए, ढोग गरे आमा
गाउँघरको जीवन, परदेशी छोराको आगमन
घरै उज्यालो, परिवार सबैलाई रमाइलो ।
दुई महिनाको हिउँदै बिदामा, बुहारी खोज्दै
बुढा'बा पनि तन्नेरी बन्दै, बुहारी रोज्दै
जानेसुनेकासँग सोधपुछ, छोरा लजाउँछ
दाइ लाहुरमै छन्, भाउँज्यू गिजाउँछन् ।
देवरको जवानी, सरकारको नूनपानी
हेर्दै लोभलाग्दो शरीर, भाउज्यूलाई कुतकुती
देवर बाबु, खाना खाने बेला भयो आउ
भान्छा समालेका भाउज्यू, गिज्याइरहन्छन् ।
अनुशासनमा बसेका देवर, आमासरह मान्छन्
नियत खराब हैन, जिस्क्याउने मात्रै गर्छन्
आमा भन्छन्, भाउज्यूलाई माईत पुर्याइ देउ
के खोज्छस् कानो आँखा, भाउज्यू रमाउँछन् ।
दिनभरिको बाटो, लामो कुराकानी गर्छन्
हुनेवाला दुलाहा, जिस्काएर हैरान पार्छन्
उमेरका निकै फरक, अनुशासनमै बस्छन्
भाउज्यूको माईत आइपुग्यो, सत्कार गर्छन् ।
थाहा थिएन, दाइको साली देखियो
आमाले केही भनिनन्, संगीता भेटियो
खोज्दै गरेको, स्वर्गको परी नै भेटियो
के खोज्छस् कानो आँखा, देवर रमाउँछन् ।
बिहानै जिस्काउँछन्, कस्तो लाग्यो परी
गाला रातो भयो, बोली फुटेन विचराको
मनमा बसाईसक्यौ कि कसो देवरबाबु
फ्याट्ट बोली निस्किहाल्यो, हो भाउज्यू ।
तीनदिनको बसाई पछि देवर भाउज्यू फर्किए
धेरै नबोल्ने देवर, बाटैभरि रमाएर गफ गरे
घर पुग्दानपुग्दै आमाले सोधे, मन पर्यो
छोराको उज्यालो अनुहारबाटै अड्कल भयो ।
पन्चेबाजासँगै धुमधामको बिहे भयो
लाहुरे र संगीताको नयाँ दिन सुरु भयो
विचराको लाहुर जाने दिन आयो
मिलन पछिको विछोड, सबैलाई रुवायो ।
एउटै पल्टनमा सेवारत थिए
हाजिर पछि दाइलाई भेट्न गए
आमा र भाउज्यूको पार्सल दिए
खुशी छु, जीवन साथी पाए