काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका- ६ स्थित सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन र ओरेगन नेपाली समाज, अमेरिकाकाले मंगलबार विद्यालयको प्रांगणमा एक कार्यक्रमबीच विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
-1713283546.jpg)
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ओरेगन नेपाली समाज, अमेरिकाका अध्यक्ष नारायण गुरुङ, विद्यालयका प्रधानाध्यापक गोरखबहादुर सिंह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपाली, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्यप्रमुख छितराज न्यौपानेको उपस्थिति थियो ।
यस्तै, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्यप्रमुख चन्द्रशेखर जोशी,बारेकोट-५ का वडाअध्यक्ष गोरखबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शर्मा र विरिजित बोहरा, कर्णाली प्रदेश सदस्य नवीन गिरी, विष्णु कार्की, विद्यालयका शिक्षक, अभिभावक तथा जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रअ गोरखबहादुर सिंहले दुर्गममा रहेको विद्यालयमा विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुर्याउने कार्यक्रम गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र ओरेगन नेपाली समाजलाई धन्यवाद दिए ।
उक्त कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङले जाजरकोटमा भूकम्प जाँदा विदेशमा रहेका नेपालीहरूको मुटु कामिरहेको र भूकम्प प्रभावित विद्यार्थीलाई सानो भए पनि सहयोग गर्न र प्रत्यक्ष रूपमा भेट्न पाउँदा खुसी लागेको बताए ।

परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विद्यार्थीहरू राष्ट्रका वर्तमान र भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताए । विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको उनको भनाइ थियो । उनले उक्त शैक्षिक सामग्री विद्यालयसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

सो अवसरमा विद्यालयले विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव ढकाल र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष गुरुङलाई अभिनन्दन तथा सम्मानपत्रले सम्मान गरेको थियो ।