खोटाङ । खोटाङ सेवा समाज बेलायतले शिक्षाविद् चतुरभक्त राईलाई ‘खोटाङ नागरिक सम्मान–२०८०’ र कवि चन्द्र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार–२०८०’ प्रदान गरेको छ ।
शनिबार दिक्तेलमा आयोजित समारोहमा चतुरभक्तलाई एक लाख रुपैयाँ राशिको नागरिक सम्मान र रानोहँछालाई ५० हजार रुपैयाँ राशिको प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
दुवै जनालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले नगदसहित ताम्रपत्र प्रदान गरेका थिए ।
समाजले साहित्य, कला, संगीत, शिक्षा, खेलकुद, समाजसेवालगायतका माध्यमबाट सेवा पुर्याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ।
समाज बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरूले सन् २००७ मा स्थापना गरेका थिए । समाजमा आबद्ध २५ जना सदस्यबाट संकलन गरिएको रकमबाट स्थापना गरिएको ११ लाखको कोषको ब्याजले हरेक ३–३ वर्षमा सम्मान तथा पुरस्कार प्रदान गर्ने गरिएको महासचिव राजेन रामजङ राईले जानकारी दिए ।
समाजले ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर’समेत सञ्चालन गरेको थियो । शिविर समापनका अवसरमा पुरस्कार प्रदान गरिएको हो । शिविरबाट ६ हजार ६३८ जनाले सेवा लिएका छन् ।