लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले विभिन्न कार्यक्रम गरी नेपाली नयाँ वर्ष २०८१ मनाउने भएको छ ।
आइतबार थकाली कुजिन अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा जीआरएनसीका अध्यक्ष मान गुरुङले यस वर्ष पनि धूमधामका साथ नयाँ वर्ष मनाउन लागिएको बताए । उनले सुरुआतमा कार्यक्रमबारे जानकारी गराएका थिए । आफ्नो अध्यक्षतामा तेस्रो पटक नयाँ वर्षको कार्यक्रम हुन लागेको उनको भनाइ थियो ।
सो अवसरमा नेपालबाट आउने गायिका उषा गुरुङलगायत कलाकारले बेजोड प्रस्तुति दिनेछन् । बालकलाकारको बालगीतसमेत रहनेछ । कार्यक्रममा पहिलो पटक बालगीत प्रस्तुत गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।
स्थानीय डीएमटी ब्यान्डकोसमेत प्रस्तुति रहनेछ । ब्यान्डले नेपालको मौलिक धुन र लोक संगीतले उपस्थितलाई मनोरञ्जन गराउनेछ । अहिले नृत्य, गीत र संगीत सबैको कलाकारहरूले तयारी गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
कोषाध्यक्ष श्याम श्रेष्ठले स्थानीय व्यवसायी र समुदायलाई उपस्थित भएर कार्यक्रमलाई स्मरणीय बनाउन आग्रह गरे । ‘उहाँहरूबाट हामी सहयोगको पनि अपेक्षा गर्दछौँ, उनले भने। नयाँ वर्षलाई आनन्द, नवीकरण र सांस्कृतिक गौरवको दिनका रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘समुदायलाई एकैठाउँमा ल्याउने, सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र सद्भाव बढाउने लक्ष्यसहित कार्यक्रम गर्न लागेका हौँ,’ उनले भने ।
कार्यक्रम अप्रिल १२ मा अल्डरसटस्थित एम्पायर हलमा हुनेछ। जीआरएनसीले सन् २००३ देखि लगातार नेपाली नयाँ मनाउँदै आएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष मान गुरुङ, कोषाध्यक्ष श्याम श्रेष्ठ, सांस्कृतिक सचिव तथा डीएमटी ब्यान्डका दिनेश गुरुङलगायत संस्थाका सदस्य र पत्रकारहरू उपस्थित थिए ।