काठमाडौँ । साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ (लघुकथा संग्रह) र ‘युङ्फ्राउ’ (नियात्रा संग्रह)को शनिबार विमोचन गरिएको छ । दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
चिकित्सक डा. शम्भु आचार्य, साहित्यकार प्राडा. लक्ष्मणप्रसाद गौतम, प्राडा. लेखप्रसाद निरौला, डा. फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ रोदन, लेखक बजगाईं र प्रकाशक केशव पराजुलीले कृति विमोचन गरे ।
आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको नियात्रा संग्रहमा स्वीट्जरल्यान्ड, ग्रिस र पोर्चुगलका २७ वटा यात्रानुभूति समावेश गरिएका छन् । लघुकथा संग्रहमा ६१ कथा समावेश छन् । हाल बेलायतमा बस्दै आएका साहित्यकार बजगाईंका हालसम्म १७ कृति प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा समालोचक डा. फणीन्द्रराज निरौलाले बजगाईंको नियात्रा संग्रह पारिवारिक भ्रमणको सँगालोमा आधारित रहेको बताए । “उहाँको यो पाँचौँ नियात्रा कृति हो । यो रोचक र महत्त्वपूर्ण छ । यसमा उहाँले विभिन्न देशका भ्रमण यात्रा समेट्नुभएको छ । सांस्कृतिक उत्खनन पनि भेटिन्छ,” उनले भने ।
बजगाईंका यसअघि ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’लगायत लघुकथा संग्रह तथा नियात्रा संग्रहमा ‘उमिहोतारु’, ‘भाया साक्रा’, ‘युरेसियाको स्पर्श’ लगायत प्रकाशित भइसकेका छन् ।