लन्डन । खोटाङ सेवा समाज बेलायतको आयोजनामा आफ्नो जन्मभूमि खोटाङमा शुक्रबार २९ मार्चदेखि स्वास्थ्य शिविर सुरु भएको छ ।
खोटाङ-युके नि:शुल्क स्वास्थ्य शिविर आजबाट जिल्लाका चार स्थानमा सुरु भएको गायक तथा समाजसेवी रुपकुमार राईले जानकारी दिए । आयोजकका अनुसार जिल्लाका १० वटै स्थानीय तहका ११ स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।
अध्यक्ष डा. प्रमोद कोयी राईले विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको उपस्थितिमा स्वास्थ्य शिविर आयोजना गरिएको बताए । उनका अनुसार शिविरका लागि ३ करोड रुपैयाँ खर्चको अनुमान छ ।
विगत ६ महिना अघिदेखि सामाजिक अभियान चलाएर मातृभूमिका नागरिकहरूको सेवा भावको अभियानमा समाजले २ वटा कार्यक्रम बेलायतमा आयोजन गरी करिब १२ हजार पाउन्ड रकम संकलन गरेको थियो । साथै यो अभियानका लागि विश्वका विभिन्न देशका नेपालीहरूबाट करिब ७० लाख जति सङ्कलन भएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिए ।
खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलितसहित करिब ३ करोड १० लाख रुपैयाँ बराबरको रकम शिविरमा खर्च गरिने उनले बताए । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरूसहित १३० जनाभन्दा बढी मेडिकल टिमको सहभागिता रहने बताइएको छ ।
शिविरमा गाईनोक्लोजिस्ट, पेडियार्टिक, जनरल फिजिसिन, दन्त रोग, हाजजोर्नी, ग्यास्ट्रोलोजीलगाएत रोगको उपचार र परीक्षण गरी करिब ४५–५० हजार खोटाङेहरुलाई स्वास्थ्य परीक्षण र औषधीवितरण निःशुल्क गरिने समाजले जानकारी दियो ।