नोभेम्बर महिना छोटो दिन
बिहानै उठेँ, चिया पकाउन
काम देखाउन, बूढी फकाउन
अरु ढंगनै के छ र सघाउन
चियाले पनि टेरेन मलाई
टिब्याग निकालेर फाल्न खोजेँ
कपमै खस्यो, लथालिङ्गै
पुछपाछ गरेँ, दुई कप हातमा
चियाले पनि टेरेन मलाई
बत्ती निभाए, भर्याङ चढेँ
अँध्यारोमा फेरि ठोकियो
करिडोरभरि चिया पोखियो
चियाले पनि टेरेन मलाई
बत्ती बालेँ, भुइँमा मफ लगाएँ
बेडरुममा आइपुग्न ढिला भयो
चिया पिउन नपाउँदै, गाली खायो
चियाले पनि टेरेन मलाई
तात्तै छैन, चिसो दूध हालेको हो
मह पनि कम छ, के भयो बुढो
म बोलिनँ, ठीकै छ त मनले बोलेँ
चियाले पनि टेरेन मलाई
खाने ढंग प्रशस्त, बनाउने कम
सीप नभएपछि, चुप लाग्नै पर्यो
जाडोको चियाले गर्नु गर्यो
चियाले पनि टेरेन मलाई
सिक्छु भन्ने त, मनमा आइहाल्छ
पाएपछि मान्छेको जात भुलिहाल्छ
खासै केही छैन, बुढाबूढीबीच भैहाल्छ
चियाले पनि टेरेन मलाई
भोलि पनि फेरि चिया पकाउँछु
तात्तातै मह लाग्ने गरी पकाउँछु
आजको सट्टा भोलि फकाउँछु