काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान, बेलायतले अर्पण गर्दै आएको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ लेखक गीता रेग्मीलाई प्रदान गरिएको छ ।
काठमाडौँमा बुधबार आयोजित समारोहबीच ‘प्रशान्तको तीरैतीर’ नियात्रा संग्रहका लागि प्रतिष्ठानले रेग्मीलाई पुरस्कार दिएको हो । रेग्मीको ‘प्रशान्तको तीरैतीर’ २०७८ सालमा प्रकाशन भएको थियो । पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ ।
कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष प्राडा. सुष्मा आचार्यले नियात्रा लेखनमा निरन्तर क्रियाशील रहेकाले गीता रेग्मीलाई यो पुरस्कार अर्पण गरिएको जनाइन् ।
कुनै पनि लेखकले निरन्तर एउटै विधामा कलम चलाइरहनु ठूलो उपलब्धि रहेको र त्यसमाथि उत्कृष्ट लेख्नु झनै महत्त्वपूर्ण रहेको प्रतिष्ठानका कोषाध्यक्ष एवम् लेखक गोपी सापकोटाले बताए ।
कार्यक्रममा समीक्षक हेम भण्डारीले नियात्राकृति ‘प्रशान्तको तीरैतीर’ काठमाडौँबाट शुरू भएर काठमाडौँमै आएर टुंगिएको भए पनि अस्ट्रेलियाका विविध घटना र सन्दर्भ धेरै रहेको भण्डारीले बताए ।
पुस्तकमा विदेशलाई नेपालीले हेर्ने दृष्टि, विदेशमोह, बिदेसिने संस्कृति, डायस्पोरा चेतना आदि विषयलाई गहन रुपमा उठान गरिएको उनको भनाइ छ ।
पुरस्कृत व्यक्तित्व गीता रेग्मीले यति महत्त्वपूर्ण पुरस्कारका लागि आफूलाई योग्य देखेकामा अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान, बेलायतलाई धन्यवाद व्यक्त गरिन् ।
प्रतिष्ठानले सन् २०१३ मा तत्कालीन सांसद शान्ता चौधरीलाई ‘कमलरीदेखि सभासद्सम्म’ कृतिका लागि यो पुरस्कार अर्पण गरेको थियो ।
प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य र महासचिव जयालक्ष्मी राई हुन् । प्रतिष्ठान सन् २०१२ मा बेलायतमा स्थापना भएको हो ।
यसले विभिन्न साहित्यिक कार्यक्रमका अतिरिक्त विभिन्न विधामा पुरस्कार र सम्मान अर्पण गर्दै आएको छ ।