पेसाले मनोचिकित्सक (साइक्याट्रिक) नर्स सुष्मा गुरुङ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । ग्रेटर रस्मूर नेपाली कम्युनिटीको उपाध्यक्ष, तमु धीं युके महिला समूहको कार्यकारी सदस्य, शिव कल्चर एन्ड कम्युनिटी सेन्टरको महासचिव तथा श्री सत्य साई अर्गनाइजेसन युके क्षेत्रीय अध्यक्षसमेत हुनुहुन्छ । अध्यात्ममा उहाँको विशेष रुची छ । शिक्षामा अब्बल हुँदै आउनुभएकी सुस्मा सन् १९९८ सालमा बेलायत आउनुभएको हो । उहाँले १९९३ सालमा काठमाडौँको मिनभवन क्याम्पसबाट बीकम, २००३ मा युनिभर्सिटी अफ सर्रेबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक र २०१७ मा युनिभर्सिटी अफ वेस्ट लन्डनबाट मेन्टल हेल्थमा पहिलो श्रेणीमा ग्र्याजुएट गर्नुभयो । सेवामूलक क्षेत्रमा सक्रिय सुष्मासँग गोर्खा मिडियाको अतिथि संवादमा सहसम्पादक प्रकाश गुरुङले गरेको कुराकानी :
पछिल्लो समय के कुरामा व्यस्त हुनुहुन्छ ?
शिव कल्चर कम्युनिटी सेन्टरमा महासचिवको भूमिकामा रहेकोले महाशिवरात्रिको ठूलो पूजा थियो मन्दिरमा । त्यसमा व्यस्त भएँ । भोलिपल्ट एकादशीको कार्यक्रममा व्यस्त भएँ । अनि महिला दिवसको कार्यक्रम मनाएका थियौँ ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले । त्यसमा पनि व्यस्त भएँ ।
तपाईंसँग तीनवटा डिग्री छन् । पढ्न रहर थियो कि बाध्यता ?
हाम्रो घरमा सानैदेखि चिना हेराउने चलन थियो, वर्षमा एक पटक । सो क्रममा गुरुले ‘यो नानीले खासै पढ्दैन, १० कक्षा पनि मुस्किलले मात्र पढ्छ’ भन्नुभयो । त्यसपछि मलाई भित्रैदेखि पढेर देखाउँछु भन्ने जोस आयो । मैले यसरी पढ्न सुरु गरेँ कि अहिलेको अवस्थामा पनि म पढिरहेको छु । अझै पनि पढ्नेक्रम जारी नै छ । तीन वटा डिग्री भए पनि अर्को पनि लिने क्रममा छु ।
सुरुमा नेपालमा पढ्नुभयो । युकेमा पनि दुई वटा युनिभर्सिटीमा पढ्नुभयो । त्योबीचको अनुभव बताइदिनुस् न ?
नेपालमा चाहिँ कमर्स पढेँ । आर्किटेक्ट पढ्ने चाहना भए पनि त्यो पूरा हुन सकेन । पछि १९९० तिर काठमाडौँमा कम्प्युटरको चलन आयो । मलाई कम्प्युटर एकदमै मन पर्थ्यो । यो नयाँ पनि थियो। त्यसपछि एक वर्ष कम्प्युटरको कोर्स गरेँ । त्यसमा मैले राम्रो गरेकाले सरहरूले पढाउने अवसर पनि दिनुभयो । अनि कम्प्युटर पढाउन थालेँ । कम्प्युटरकै पढाइलाई निरन्तरता दिन १९९८ मा युके आइयो । सुरुमा डिप्लोमा र त्यसपछि सफ्टवेयर इन्जिनियरिङ गरेँ । विवाहित भएका कारण भनेजस्तो सजिलो थिएन । पढाई राम्रो हुँदाहुँदै पनि त्यसलाई निरन्तरता भने दिन सकिनँ । नेपालको पढ्ने पढाउने तरिका र युकेको तरिका धेरै फरक छ ।
भिडियो
भिडियो : मिलन तमु/गोर्खा मिडिया
कम्प्युटरको चलन सुरू भएकै समय आफूले सिकेर अरूलाई पनि सिकाउनुभयो ?
हो, मैले त्यसबेला ठूला मान्छेहरूलाई सिकाएको थिएँ । इन्जिनियरलगायत माथिल्लो पोस्टमा काम गर्नेहरूलाई कम्प्युटरको ज्ञान थिएन । त्यसैले एक घण्टा प्राक्टिकल, एक घण्टा थ्योरी गरेर सिकाउनुपर्थ्यो ।
कमर्स पृष्ठभूमिबाट आउनुभएको अनि सफ्टवेयर इन्जिनियरिङ गर्नुभएको मान्छे फेरि कसरी दुवैलाई छाडेर मेन्टल हेल्थमा पुग्नुभयो ?
यहाँ आएपछि मेरो पार्टटाइम जागिर चाहिँ मेन्टल हेल्थको फिल्डमा थियो । हेल्थ केयर असिस्टेन्ट भएर काम गरेँ । मलाई नर्सिङ क्षेत्र सानैदेखि मन पर्दैनथ्यो । मेरो चाहना पनि थिएन । तर यहाँ काम गर्ने क्रममा म मान्छेहरूसँग यति भिजेँ कि सेवाको भाव पनि आयो मलाई । मेन्टल हेल्थ अलिक फरक फिल्ड भयो । त्यो मलाई अनि नै मन पर्यो । यो क्षेत्रमा लागेपछि परिवारलाई पनि समय दिन र सामाजिक काम पनि गर्न सकिन्छ भन्ने बुझेँ । अरूले पनि पढ्न प्रेरित गर्नुभयो । श्रीमान्ले पनि सपोर्ट गर्नुभयो ।
परिवारसँग हुनुहुन्थ्यो । बच्चाहरू पनि सानै थिए होलान्, कत्तिको सहज थियो पढ्न ?
सहज हुँदैनथ्यो होला । मेरो परिवारले सजिलो बनाइदिनुभयो । विशेषगरी श्रीमान्ले पढ भनेर धेरै हौसला दिइरहनुहुन्छ । र पनि छोरी मान्छे भएपछि परिवार पनि हेर्नुपर्यो । मलाई पकाउन एकदमै मन पर्छ । एउटा छोरा ठूलो भइसकेको थियो । अर्को भने भर्खरै जन्मिएको थियो, मैले पढ्ने बेलामा । त्यसैले सजिलो त पक्कै थिएन । र पनि मैले कहिले पनि पछि पर्नु परेन । यसको लागि चाहिँ म भगवान्लाई नै धन्यवाद दिन चाहन्छु । अनि अर्कातिर मेरो कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भएको कारण रिसर्च गर्न सजिलो भयो । फर्स्ट क्लास अनर्स (पहिलो श्रेणीको सम्मान) प्राप्त गर्नु चाहिँ सजिलो थिएन। यसमा म आफैँ पनि चकित भएँ । भगवान्लाई धेरै धन्यवाद दिएँ ।
बालबच्चा हुर्काउँदै पढेर तपाईंले फर्स्ट क्लास अनर्स ल्याउनुभयो । अहिलेको नयाँ पुस्ताको विद्यार्थीलाई एउटा डिग्री ल्याउन पनि कति मुस्किल भइरहेको छ । उहाँहरूलाई र पढ्ने इच्छा भएर पनि युनिभर्सिटी नजानुभएको दिदीबहिनीहरूलाई के भन्नुहुन्छ?
कुनै पनि कुरा आफूले भित्रैबाट चाहेर गर्यो भने त्यो सफल हुन्छ । छोरा होस् वा छोरी होस् सबैलाई भन्छु, पढ्नुपर्छ। मैले पनि छोरा हुर्काउँदै पढेको हो । उमेर धेरै भएपछि नै पढेको हो । परिवारले पनि सहयोग गर्नुपर्छ । युकेमा पढ्न सजिलो पनि छ। सजिलो बनाउने विभिन्न तरिकाहरू पनि छ । म मेन्टल हेल्थ (मानसिक स्वास्थ्य)मा काम गर्ने भएकाले यस क्षेत्रको पनि भविष्य राम्रो देख्छु । सबै डाक्टर इन्जिनियर बन्नुपर्छ भन्ने छैन । जेमा सजिलो लाग्छ त्यही पढ्दा हुन्छ । जीवन भनेको पढ्ने र सिक्ने नै हो । हामीलाई बुवाआमाले नपढीकन पनि यत्रो शिक्षा दिन सक्नुभयो भने हामीले नसक्ने भन्ने हुँदैन । सबैले सबैलाई इन्करेज गरौँ । तपाईंहरूले पनि सक्नुहुन्छ, कोसिस गर्नुस् ।
अस्पतालमा साइक्याट्रिक नर्सको रूपमा सेवा दिइरहनुभएको छ । यो कठिन काम पनि हो जस्तो लाग्छ । तपाईंको भूमिकाचाहिँ के हुन्छ ?
हाम्रो काम कम्युनिटी मेन्टल हेल्थमा सोमबारदेखि शुक्रबारसम्म हुन्छ । मैले मानसिक रोग लागेको बिरामीलाई लिइसकेपछि उसको अवस्था कस्तो छ भनेर हेर्छौं । उनीहरूको रिस्क हेर्छौं । यो भनेको उ आफू मर्न पो खोजिरहेको छ कि अरूलाई पो मार्न खोजिरहेको छ । उदासी पो छ कि । खाना खाइरहेको छैन कि, यस्ता प्रत्येक कुराको मानसिक असर हुन्छ । उनीहरूको मनोविज्ञान थाहा पाउनुपर्छ । अनि मैले हरेक बिहीबार बिरामीको एसिसमेन्ट गर्नुपर्छ । त्यो दुई घण्टासम्म हुन्छ । त्यसमा जन्मेदेखि त्यस बेलासम्मको अवस्थाबारे विभिन्न प्रश्न उनीहरूको पूर्ण विवरण (कम्प्रिहेन्सिभ) बुझ्नुपर्छ । यसमा कतिपय प्रश्न निश्चित हुन्छन् । कतिपय आफैँ बनाएर सोध्नुपर्छ । अनि उनीहरूले डाक्टरले दिएको औषधि खाएको छ कि छैन। त्यसको केही साइड इफेक्ट पो भइरहेको छ कि, यस्तो कुराहरू हेर्नुपर्छ । अरू पनि धेरै छन् ।
सामाजिक काममा पनि लाग्नुभएको छ । तीन–चार वटा संस्थामा पनि आबद्ध हुनुहुन्छ। काम, घर अनि सामाजिक कामका लागि समय कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
सबैको प्रश्न नै यही छ । भेट्नेसाथ सबैले समय कसरी मिलाउनुहुन्छ भनेर सोध्नुहुन्छ। नसोध्ने सायदै होला । तर, मलाई नै थाहा छैन कसरी मिलाउँछु। म आध्यात्मिक (स्प्रिचुअल) भएको हुनाले भगवान्लाई नै धन्यवाद भन्न चाहन्छु । भगवान्को कृपाले होला अहिलेसम्म ‘स्ट्रङ’ छु । सबैले ‘मोटिभेट’ गर्नुहुन्छ । सबैको सहयोग पाएको छु । घरपरिवारको सहयोग नभएको भए केही पनि गर्नै सक्दिनथेँ होला । काममा पनि मेरै म्यानेजर यति राम्रो हुनुहुन्छ । सबैको विश्वास जितेको कारण होला मेरो अफिसको म्यानेजर पनि मेरो अनुसारले चल्नुहुन्छ । त्यसैले होला सायद समय व्यवस्थापन गर्न सहज भएको छ।
तपाईंले हालै सम्पन्न अन्तर्राष्ट्रिय महिला दिवसको कोअर्डिनेटर हुनुहुन्थ्यो । शिव मन्दिरमा पनि लगाव छ । अनि श्री साई भक्ति टोलीमा तपाईंको योगदान देखिरहेका छौँ । तपाईं ग्रेटर रसमूर नेपाली कम्युनिटीको उपाध्यक्ष हुनुहुन्छ । यसमा एउटा ‘कुराकानी’ भन्ने कार्यक्रम चलाइरहनुभएको छ । अहिले ९१ एपिसोड भइसक्यो । त्यसमा कस्तो विषय र व्यक्तित्व ल्याउनुभएको छ ? यो कसको कन्सेप्ट हो ?
यसको लागि चाहिँ सर्वप्रथम हाम्रो मेनेजर क्यारन फ्रर्टलाई धन्यवाद दिनुपर्छ । सन् २०१८ मा मैले अल्डरसट सेन्टर फर हेल्थमा काम गर्न थालेँ । मैले यहाँ काम गरेको पनि नेपाली समुदायलाई सेवा गर्छु, मद्दत गर्छु भनेर हो । किनभने, मानसिक स्वास्थ्य भनेपछि सबैजना डराउँछन् । बोल्न डराउँछ । भन्न डराउँछ । यस्तो अवस्था नेपालीहरूमा अझै छ । गोराहरूमा पनि सन् २००० सम्म थियो । त्यसपछि हराएर गयो । मेरो मेनेजरले मलाई ‘इन्करेज’ गर्नुभयो । अनि ‘नेपाली स्ट्राटेजी ग्रुप’छ हाम्रो त्यसमा धेरै संघसंस्था आबद्ध छ । उहाँहरूसँग मिलेर काम गरिरहेको थिएँ ।
तस्बिर : मिलन तमु/गोर्खा मिडिया
कोभिडको लकडाउनभन्दा अगाडिचाहिँ नेपालीहरूलाई मन्दिरमै बोलाएर हप्तामा एक पटक कुराकानी गर्छु भनेर मेनेजरसँग सल्लाह गरेँ । हामीले युट्युब भिडियो पनि बनाएका छौँ । तर कोभिड लागेपछि गर्न सकिएन । पछि ग्रेटर रसमूरमा कार्यकारी सदस्यका रूपमा प्रवेश गरेँ । हुन त पहिलेदेखि नै काम गरिरहेकी थिएँ । अनि मान भाइसँग (अध्यक्ष मान गुरुङ) सल्लाह गरेँ। ग्रेटर रसमूरमा चाहिँ ५००–६०० भ्युअर छ, फेसबुकमा । त्यहाँ गर्दा ग्रेटर रसमूरका नेपालीहरू सबैलाई हुने भयो नि त । अनि मैले मेनेजरसँग सल्लाह गरेँ, म फेसबुकमा गर्न चाहन्छु भनेर । अनि डा. विशाल गुरुङसँग भेट भयो । उहाँसँग कुरा गरेँ । उहाँ त्यतिबेला महासचिव हुनुहुन्थ्यो । हुन्छ दिदी भन्नुभयो । त्यसपछि ‘हेडिङ’ के राख्ने भन्ने भयो । ठूलो नाम चाहिएको थिएन । नेपाली मौलिक खालको सबैले बुझ्ने चाहिएको थियो । साधारण नाम चाहिएको थियो । कुराकानी भन्ने हेडलाइन राख्दा सबैले बुझ्छन् जस्तो लाग्यो मलाई । त्यसैले हेडलाइन नै कुराकानी राख्यौँ । त्यसपछि सुरू भएको हो । दुई वर्ष लागिसक्यो।
भनेपछि यो कन्सेप्ट तपाईंकै हो ?
हो, लकडाउन अगाडि सुरू गरेको ।
हामी नेपालीहरूमा राजनीति धेरै चल्छ। बेलायतमा पनि नेपालीहरू मेयर बनिसकेका छन् । काउन्सिलर त पहिलेदेखि नै बनेको थियो । निना गुरुङ पहिलो महिला मेयर बनिसक्नुभएको छ । तपाईंलाई चाहिँ यो राजनीतिमा जाउँ जस्तो लागेन ?
अत्यन्तै राम्रो प्रश्न सोध्नुभयो । राजनीतिभन्दा पनि म चाहिँ सानैदेखि अध्यात्ममा बढी लागेँ । राजनीति त धेरै देखेँ । कलेज जाँदा पनि त्यही देख्थेँ । तर म कहिले पनि लागिनँ । मलाई रुचि नै थिएन । युकेमा आएर पनि सामाजिक काम गर्ने भएकाले धेरैबाट ‘अप्रोच’ पनि आयो । भर्खरै पनि धेरैले काउन्सिलरमा उठ्नु तपाईं ‘स्योर’ जित्नुहुन्छ भनेर पनि भन्नुभयो । तर मैले हुँदैन भनेँ । काउन्सिलर बन्ने, त्यसपछि मेयर अनि एमपीमा उठ्नुपर्छ भन्ने सुझाव पनि आइसकेको छ । सायद म चैँ गर्दिन होला जस्तो लाग्छ।
तर लाग्नुभयो भने ‘लिडर’मा हुनुपर्ने सबै क्षमता तपाईंमा भएको भएर सोधेको हो ।
मलाई कहिले पनि राजनीति मन परेन । राम्रो दृष्टिकोणले हेर्ने हो भने र सही उपयोग गर्यो भने राजनीति चाहिन्छ । बिरामी नभएन भने डाक्टरको आवश्यक पर्दैन । चोर नभई पुलिस हुँदैन । राजनीति पनि एकदम आवश्यक कुरा हो देश चलाउन । यसमा सकारात्मक र नकारात्मक दुवै कुरा छ । मेरो अध्यात्ममा दख्खल पर्छ भनेर म चाहिँ त्यतातिर सकेसम्म नलागेको हो । तर म सक्षम नभएर चाहिँ होइन । काउन्सिलर भएँ भने पनि म गर्न सक्छु । मेयर नै भएँ भने पनि समाजको लागि गर्न सक्छु भन्ने आत्मविश्वास छ।
तपाईं जीवन दर्शन बुझिसक्नुभएको व्यक्ति हो । आध्यात्मिक क्षेत्रमा तपाईंको धेरै लगाव छ । यसले मानव जीवनमा के फरक पार्ने रहेछ ?
धेरै फरक पार्छ । सबैभन्दा पहिला त यो अध्यात्म भनेको कुनै धर्म होइन । हिन्दु, मुस्लिम, बौद्ध सबै हुनसक्छ । अध्यात्मले चाहिँ सबैभन्दा पहिला म को हो भनेर चिनाउँछ । म को हो भन्ने चिनिसकेपछि तपाईं पनि एउटा आध्यात्मिक मान्छे हुन्छ । म को हो भनेर चिनिसकेपछि यो सांसारिक केही पनि होइन । त्यसो भइसकेपछि तपाईं पनि खुशी हुनुहुन्छ। खुशी हुनुभयो भने भगवान् त्यहीँ हुनुहुन्छ । त्यसकारण एकदमै महत्त्वपूर्ण छ ।
सटिकमा जवाफ दिनुभयो । यसको त गहिराइ धेरै छ हैन ?
हो एकदमै धेरै छ । फेरि म को हो भन्दाखेरी अरूले भन्दा सुस्मा गुरुङ हो । तर यो मेरो सांसारिक नाम हो । म को हो भनेर मलाई मात्र थाहा छ । वा म पनि भर्खर अलिअलि चिन्दै छु । त्यो स्तरमा पुग्दै छु । त्यसकै लागि प्रयत्न गर्दै छु । तपाईंहरू पनि सक्नुहुन्छ भने आउनुस् ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ?
गोर्खा मिडियालाई धेरै धेरै धन्यवाद । मलाई अन्तर्वार्ताका लागि उपयुक्त ठानेर बोलाइदिनुभयो । नारी, पुरुष सबैले पढ्नुपर्छ । समय ढिलो हुँदैन पढ्नको लागि । उमेरले केही गर्दैन । ४०–५० वर्षपछि पनि पढ्न सकिन्छ । म आफैँ पनि पढी नै रहेको छु । युनिभर्सिटीको डिग्रीमात्र होइन । सानो कुराहरू पनि सबैतिरबाट सिक्न सकिन्छ । हाम्रो जीवन नै सिकाइ हो । सबैलाई मद्दत गरौँ । सबैलाई सेवा गरौँ । मेरो धारणा त्यही हो । तपाईंहरू पनि त्यही धारणा राख्नुस् । केही समस्या पर्यो भने मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। सकेको र जानेको सहयोग गर्नेछु । आध्यात्मिकमा पनि मैले सहयोग गर्न सक्छु । आउनुस् । जोडिनुस् । ‘कुराकानी’मा पनि आउनुस् । ९१ भइसक्यो । अब ९ वटा एपिसोड छ । त्यसपछि हाम्रो ‘रिभ्यु’ गर्ने योजना छ । हामीसँग जोडिनुस् ।