थाइल्यान्ड । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्यान्डको बैंककमा सम्पन्न भेलाले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ ।
विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरूप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
अधिकारी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष हुन् । सो फाउन्डेसनको सहयोग र समन्वयमा बैंककमा नेपालीभाषीको पहिलो महाधिवेशनको आयोजना गरिएको हो ।
१०० जनाभन्दा बढी नेपालीभाषीको सहभागिता रहेको भेलाले उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई, सचिव चिरनजङ थापा, सहसचिव अर्जुनकुमार पौडेल, कोषाध्यक्ष उदयनारायण मिश्र र सहकोषाध्यक्षमा गोपी कार्की तथा सदस्यहरू चयन गरेको छ ।
यसैगरी संस्थाको बोर्ड अफ ट्रस्टीमा अध्यक्ष डिल्ली अधिकारीसहित सदस्यमा सुशीलकुमार पन्त, चूडामणि भट्टराई, साधना घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ, ओमराज गुरुङ, वात्सना राई, टिबी गुरुङ, बिरास अधिकारी र करिष्मा सुब्बा चयन भएका छन् ।
विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्दै आएका नेपाली जातिको चाहना भावनात्मक रूपमा आफ्नो मातृ तथा पितृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान गर्न आपसी भाइचारा, सद्भाव एवं सहयोग कायम गर्न तथा नेपाली जातीय, सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न एएनओको गठन गरिएको बताइएको छ ।
महाधिवेशनको उद्घाटन गर्दै थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले एएनओ विश्वमा रहेका नेपालीभाषीलाई एकताको सूत्रमा बाँध्न र एकापसमा सहयोग र सद्भाव कायम राख्नसक्ने संस्थाका रूपमा विकास होस् भनी कामना गरे ।
एएनओका अध्यक्ष अधिकारीले यो अभियान विशुद्ध रूपमा संसारमा छरिएर रहेका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिए । “यो सबै नेपालीभाषीको साझा संस्था भएकाले गैरराजनीतिक र गैरपक्षधर अभियान पनि हो,” उनले भने, “यो अभियान नेपाल, नेपाली, नेपाली मातृ तथा पितृभूमि, नेपाली संस्कार र संस्कृति एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीको साझा र आफ्नै संस्था हो ।”
संसारमा रहेका नेपाली नागरिकका छोराछोरीलाई पनि नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाइ उनीहरूमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिलाई आफ्नो मातृ तथा पितृभूमिका बारेमा सदैव जानकार बनाइराख्न यो संस्थाले काम गर्ने उनको भनाइ छ ।
सो संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले संस्थाको कानूनी व्यवस्थाका बारेमा जानकारी दिँदै जो जहाँ रहे पनि भाषा र संस्कृतिका माध्यमबाट यस संस्थाले विश्वका नेपालीभाषी समुदायलाई जोड्ने धारणा राखे । संस्थाका महासचिव चूडामणि भट्टराईले संस्था गठनको उद्देश्यका बारेमा जानकारी गराउँदै विभिन्न ४५ भन्दा बढी मुलुकका नेपालीभाषी अभियानमा जोडिएको बताए ।
कार्यक्रममा साउदी अरेबियास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा. डम्मरुबल्लभ पौडेलले नेपालमा लगानीका क्षेत्र र अवसरबारे जानकारी दिँदै यसका लागि एएनओमा आबद्ध रहेका विश्वका नेपालीभाषीले पनि पहल गर्नुपर्ने बताए ।
सो कार्यक्रममा विभिन्न देशबाट आएका प्रतिनिधिले भूगोलको भन्दा भावनाको सीमा फराकिलो हुने भन्दै आफ्नो मातृ तथा पितृभूमिसँग यस संस्थामार्फत जोडिन पाएकामा खुसी व्यक्त गरेका थिए ।
पहिलो महाधिवेशन भनिएको सो भेलामा नेपालसहित भारत, थाइल्यान्ड, म्यानमार, साउदी अरेबिया, यूएई, अमेरिका, बेलायत, पोर्चुगल, जर्मनी, दक्षिण कोरिया, इटाली, न्युजिल्यान्ड, भियतनाम, कम्बोडिया, बहराइनलगायत देशमा बसोबास गरिरहेका नेपालीको सहभागिता थियो ।