काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गर्यो । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपांगता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम प्रतिवेदन गरेको हो । राष्ट्रिय जनगणना २०७८ का क्रममा संकलित तथ्यांकलाई विस्तृत विश्लेषणसहित चारवटा प्रतिवेदन तयार पारिएको कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।
तथ्यांक कार्यालयले सार्वजनिक गरेको मुलुकको जनसङ्ख्याको आर्थिक संरचना विवरणअनुसार दश वर्ष वा सोभन्दा माथि उमेर समूहको कुल जनसङ्ख्याको लगभग दुई तिहाइ अर्थात् ६५ दशमलव छ प्रतिशत आर्थिक रूपमा सक्रिय छन् । आर्थिक रूपमा सक्रिय पुरुष ७१ प्रतिशत र महिला ६० दशमलव चार प्रतिशत छन् । प्रदेशगत रूपमा हेर्दा कर्णालीमा आर्थिक रूपमा सक्रिय जनसङ्ख्या सबैभन्दा बढी ७२ प्रतिशत छ भने त्यसपछि कोशीमा ७१ दशमलव एक प्रतिशत छ । आर्थिक रूपमा सक्रिय जनसङ्ख्या सबैभन्दा कम मधेस प्रदेशमा ५७ दशमलव तीन प्रतिशत छ ।
प्रतिवेदनअनुसार नेपालमा १० वर्ष वा सोभन्दा माथिका जनसङख्यामा १२ महिनामा छ महिना वा सोभन्दा बढी समय काम गर्ने वा काम खोज्ने आर्थिक रूपमा सक्रिय व्यक्ति ९३ प्रतिशत छन् । रोजगारीको अनुपात सबै भौगोलिक क्षेत्र, पालिकाहरू र प्रदेशहरूमा लगभग समान रहेको कार्यालयले जनाएको छ ।
प्रतिवेदनअनुसार ८६ प्रतिशत परिवार आफ्नै स्वामित्व भएको आवासमा बसिरहेका छन् भने १२ दशमलव आठ प्रतिशत परिवारहरू भाडामा लिइएको आवासमा बस्ने गरेका छन् । बाँकी करिब एक प्रतिशत परिवारको बसोबास सरकारी वा संस्थागत कार्यालय र अन्य प्रकारको आवासीय एकाइमा रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
बसोबासको स्थानका आधारमा सहरी क्षेत्रमा रहने ८९ दशमलव पाँच प्रतिशत परिवार पक्की आवासमा बस्ने गरेका छन् भने करिब आठ प्रतिशत जनसङ्ख्या अर्धपक्की घरमा बसोबास गर्छन् । पक्की आवासमा बस्ने परिवारहरू शहरोन्मुख क्षेत्रमा ६२ दशमलव नौ र ग्रामीण क्षेत्रमा ७९ दशमलव आठ प्रतिशत रहेको तथ्यांक छ ।
घरको तलाअनुसारको बनोटलाई विश्लेषण गर्दा सबैभन्दा बढी करिब ६० प्रतिशत घरहरू एकतले छन् । त्यसैगरी २९ प्रतिशत घरहरू दुईतले, नौ प्रतिशत तीनतले र २ प्रतिशत चार वा सोभन्दा बढी तलाका छन् । मधेस प्रदेशका ८४ प्रतिशतभन्दा बढी घरहरू एकतले मात्रै छन् । यो सङ्ख्या कोशीमा ६४ र लुम्बिनी प्रदेशमा ६३ प्रतिशत छ । एकतले मात्र घरको अनुपात कर्णाली प्रदेशमा सबैभन्दा कम २९ प्रतिशत छ ।
घर निर्माण भएको समयावधिको आधारमा घरहरूलाई वर्गीकरण गर्दा नेपालका कुल घरमध्ये करिब ४२ प्रतिशत घरहरू विसं २०७२ को भूकम्पपछि निर्माण भएको पाइएको छ । त्यसैगरी २१ दशमलव छ प्रतिशत घरहरू आठदेखि १४ वर्षअघि र १८ प्रतिशत घरहरू १५ देखि २४ वर्षअघि बनेका देखिन्छन् ।
आवासीय घर निर्माणका लागि १२ प्रतिशत परिवारले आंशिक वा पूर्ण रूपमा सरकारी निकायबाट अनुदान पाएको देखिएको छ । हिमाली क्षेत्रका करिब एक तिहाइ अर्थात् ३२ दशमलव दुई प्रतिशत परिवारमा घर बनाउन सरकारी निकायबाट अनुदान उपलब्ध भएको तथ्यांक कार्यालयले जनाएको छ । यो सङ्ख्या तराईमा करिब चार प्रतिशत मात्रै छ । प्रदेशअनुसार बागमती र गण्डकी प्रदेशका क्रमशः ३६ प्रतिशत र १७ प्रतिशत परिवारले आवासीय घर निर्माणमा सरकारी अनुदान लिएका छन् ।
औसत परिवार सङ्ख्या र परिवारको आकारअनुसार एउटा घरमा सरदर एक दशमलव दुई परिवारले बसोबास गर्ने गरेको र एउटा परिवारको आकार औसतमा चार दशमलव चार जनाको भएको तथ्यांकले देखाएको छ । परिवारको आकारका आधारमा सुदूरपश्चिम प्रदेश र तराई क्षेत्रमा बसोबास गर्ने परिवारहरू ठूला आकारका अर्थात् चार दशमलव सात सदस्य प्रतिपरिवार छन् । औसतमा नगरपालिकामा बसोबास गर्ने परिवारको आकार प्रतिपरिवार चार दशमलव तीन जना र गाउँपालिकामा बसोबास गर्ने परिवारको आकार प्रतिपरिवार चार दशमलव पाँच जना छ ।
घरको जगको बनोटअनुसार एक तिहाइ अर्थात् ३३ प्रतिशत परिवारले बसोबास गरिरहेका घरको जग माटोले जडान गरिएको इँटा ढुंगा प्रयोग गरेर बनेका छन् । त्यस्तै, २९ दशमलव आठ प्रतिशत सिमेन्टजडित इँटा ढुड्गा प्रयोग गरेर बनेका र करिब २२ प्रतिशत घरको जग ढलान पिलरसहितको छन् । घरको बाहिरी गारोको बनोटअनुसार परिवारले बसोबासका लागि प्रयोग गरिरहेका घरको गारोमध्ये सबैभन्दा बढी ५२ दशमलव दुई प्रतिशत परिवारले प्रयोग गरिरहेको घरको गारो सिमेन्टजडित इँटा ढंगाबाट बनेको छ । त्यसैगरी, करिब ३९ प्रतिशत सिमेन्टजडित इँटा ढंगाबाट बनेको र ११ दशमलव सात प्रतिशतको बाँसजन्य सामग्रीबाट बनेको पाइएको छ ।
विगतका तीन जनगणना (२०५८, २०६८ र २०७८) का तथ्यांक विश्लेषण गर्दा एकपछि अर्को जनगणना वर्षमा महिला परिवारमुली भएका परिवारको सङ्ख्या र अनुपात क्रमशः बढ्दै गएको देखिएको छ । २०५८ सालको जनगणनाअनुसार करिब १५ प्रतिशत परिवारको मुली महिला थिए भने यो अनुपात पछिल्ला दुई जनगणनामा क्रमशः बढ्दै गएर २०६८ मा एक चौथाइभन्दा माथि अर्थात् २५ दशमलव सात र २०७८ सालमा करिब एक तिहाइ अर्थात् ३१ दशमलव पाँच प्रतिशत भएको देखिन्छ ।
तथ्यांक कार्यालयका अनुसार २०५८ सालको जनगणनामा आफ्नो नाममा घरको स्वामित्व भएका महिलाको सङ्ख्या शून्य दशमलव नौ प्रतिशत मात्र भएकोमा यो सङ्ख्या २० वर्षको अवधिमा बढेर २०७८ सालको जनगणनामा दुई दशमलव तीन प्रतिशत पुगेको छ । जग्गामा स्वामित्व भएका महिलाको सङ्ख्या र अनुपात पनि पछिल्ला वर्षमा वृद्धि भएको देखिन्छ । तथापि, अझै करिब तीन चौथाइ अर्थात् ७४ दशमलव छ प्रतिशत परिवारमा महिलाको घर र जग्गा दुवैमा स्वामित्व नभएको तथ्य जनगणना २०७८ को नतिजाले देखाएको छ ।
जनगणना २०७८ अनुसार कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र कुनै पनि तलबी कामदार नराखेका नौ दशमलव चार प्रतिशत परिवारले कृषिबाहेकका साना घरेलु व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यस्ता साना घरेलु व्यापार व्यवसायमध्ये ५५ प्रतिशत व्यवसाय पुरुषले र ४५ प्रतिशत महिलाले सञ्चालन गरेका देखिएको छ ।
नेपालका कुल परिवार सङ्ख्यामध्ये ६१ दशमलव चार प्रतिशत परिवारमा कम्तीमा एकजना सदस्यको नाममा बैंक वा वित्तीय संस्थामा खाता रहेको तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यसैगरी कुल जनसङ्ख्याको २५ दशमलव छ प्रतिशतले कुनै बैंक वा वित्तीय संस्थामा खाता खोलेका छन् । कुल जनसङ्ख्याको एक चौथाइभन्दा केही बढी अर्थात् २५ दशमलव छ प्रतिशत परिवारले बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिएको छ ।
करिब १३ प्रतिशत परिवारका कम्तीमा एक सदस्यले कुनै न कुनै किसिमको प्राविधिक शिक्षा वा व्यावसायिक तालिम लिएको देखिएको छ । नगरपालिकामा बसोबास गर्ने परिवारमध्ये १३ दशमलव चार प्रतिशत परिवारका कम्तीमा एक व्यक्तिले यस्तो तालिम लिएको देखिएको छ भने गाउँपालिकामा यो सङ्ख्या १० दशमलव आठ प्रतिशत छ ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा रहेको परिवारको सङ्ख्या ६६ लाख ६० हजार आठ सय ४९ छ । जसमध्ये १३ दशमलव चार प्रतिशत परिवारको कम्तीमा एक सदस्य देशभित्रै अन्य कुनै ठाँउमा बसोबास गरिरहेका छन् भने २३ दशमलव चार प्रतिशत परिवारबाट कम्तीमा एक सदस्य विदेशमा बसोबास गरिरहेको देखिएको छ ।
राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार देशमा हाल बसोबास गर्ने करिब आधा परिवार अर्थात् ४९ प्रतिशतसँग खेतीयोग्य जमिन र पशुधन छ । कृषि तथा खेतीयोग्य जमिन भएको तर पशुधन नभएको परिवार सङ्ख्या नौ दशमलव सात प्रतिशत छ ।
त्यसैगरी नौ दशमलव तीन प्रतिशत परिवारमा पशुधन मात्र भएको तर खेतीयोग्य जमिन नभएको देखिएको छ । करिब एकतिहाइ अर्थात् ३२ प्रतिशत परिवारको भने आफ्नो स्वामित्व वा भोगचलनमा खेतीयोग्य जमिन र पशुधन दुवै नभएको तथ्यांक कार्यालयको विवरणबाट देखिन्छ ।
परिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको तथ्य पनि कार्यालयले सार्वजनिक गरेको छ । कृषक परिवारमध्ये ९६ दशमलव आठ प्रतिशत कृषक परिवार खेतीपाती मात्र भएका र तीन दशमलव दुई प्रतिशत कृषक परिवार पशुपन्छी मात्र भएका छन् ।
पछिल्ला वर्षहरूमा सञ्चारमाध्यमका रूपमा रेडियो प्रयोग गर्नेको सङ्ख्या घटेको र टेलिभिजन प्रयोग गर्नेको सङ्ख्या बढेको पनि तथ्यांक कार्यालयको अध्ययनबाट देखिएको छ । रेडियो प्रयोग गर्ने परिवारको संख्या २०६८ सालमा ५९ दशमलव सात प्रतिशत रहेकोमा २०७८ सालसम्ममा ३४ दशमलव दुई प्रतिशतमा झरेको कार्यालयले जनाएको छ ।