लन्डन । बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीको जीवनीमा आधारित पुस्तक ‘प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’पुस्तक सार्वजनिक गरिएको छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक कार्यक्रमबीच प्रा सुवेदीबारेको पुस्तक लोकार्पण गरेका हुन् । लन्डनमा रहेका बीबीसी नेपाली सेवाका पूर्वपत्रकार भगीरथ योगी र कान्तिपुरका लागि बेलायतस्थित संवाददाता नवीन पोखरेलको लेखन तथा सम्पादन रहेको पुस्तक र्ने बुक हिल प्रकाशनले प्रकाशित गरेको हो ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन् । प्रधानमन्त्रीले भने, “विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपाली जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौँ नेपालीले उल्लेखनीय प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा सूर्य सुवेदी हुनुहुन्छ ।”
प्रधानमन्त्रीले भने, “प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा सहयोग गर्नुभयो । पछिल्लो एमसिसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ ।”
बायोग्राफीमा प्राध्यापक सुवेदीको जीवनका उतारचढाव र नेपालमा विभिन्न कालखण्डमा उनले गरेको योगदान समावेश गरिएको लेखकद्वयले जनाएका छन् । लमजुङको एक सामान्य परिवारमा जन्मिएका सुवेदीले बेलायतसम्मको जीवनयात्रामा कयौँ उपलब्धि हासिल गरेका छन् ।
उनी बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्ति पनि उनी पहिलो हुन् । प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उनी बेलायतकै शीर्षस्थ व्यक्तित्वभित्र पर्छन् । उनले लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयसहित संसारका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।