काठमाडौँ । मलायाको युद्धमा गोर्खा सैनिकले कम्युनिस्ट आतंककारीसँग सन् १९४८ देखि १९६० सम्म लडेर वीरता प्रदर्शन गरेका थिए। त्यही युद्धमा गोर्खाले देखाएको वीरताको कथामा बनेको चलचित्र हो, गोर्खा वारियर। मिलन चाम्स निर्देशित चलचित्रका निर्माता हुन्, निर्माता सुमन राई।
चलचित्र निर्माणमा नयाँ नाम हो सुमन राई। उनले पहिलो पटक निर्माण गरेको चलचित्र नै गोर्खा वारियर हो। चलचित्र निर्माणमा पहिलो अनुभव भए पनि व्यवसायमा भने सुमनको लामो अनुभव छ। २० वर्षदेखि लन्डनमा बस्दै आएका राईको लन्डनमा सुनचाँदी व्यवसाय छ। उनले अनुग्रह ज्वेलर्स सञ्चालन गर्दै आएका छन्।
जब सुमनको निर्देशक मिलन चाम्ससँग भेट भयो तब मिलनले गोर्खा सैनिकको कथामा चलचित्र बनाउन लागेको बताएका थिए। सुमन पनि गोर्खा सैनिकै सन्तान हुन्। गोर्खा सैनिकको कथाले उनलाई पनि तुरुन्त तानिहाल्यो। र सुमन पनि जडिन पुगे। आफ्नै पिता पुर्खाको कथामा बन्न लागेको चलचित्रमा जोडिन पाउनु सौभाग्य ठाने उनले। र अहिले त्यो सपना पूरा भएकामा उनी खुशी र सन्तुष्ट पनि छन्।
-1710091650.jpg)
गत भदौमा गोर्खा वारियरको लन्डनस्थित विश्व प्रतिष्ठित आईम्याक्स सिने वर्ल्डमा भव्य प्रिमियर गरिएको थियो। उक्त प्रिमियरमा मात्र सवा करोड खर्च भएको सुमन बताउँछन्। “नेपाली चलचित्र इतिहासमा नै पहिलो पटक लन्डनको लेस्टर स्क्वायरमा सवा करोड खर्च गरेर रेड कार्पेड प्रिमयर गर्ने पनि गोर्खा वारियर चलचित्र नै हो। बाफ्टामा उत्कृष्ट १० मा मनोनयन हुने पनि नेपाली चलचित्र पनि गोर्खा वारियर हो,” उनी भन्छन्।
यस चलचित्रको प्रिमियर लन्डनसहित नेपालको धरान, पोखरा र काठमाडौँमा पनि भएको थियो। उनले यो चलचित्र निर्माण गर्दा कति खर्च भयो भन्ने हिसाब नै गरेका छैनन्। वीर गोर्खालीको इतिहास राखौँ भन्नेमा मात्र फोकस भएर चलचित्र बनाएको उनी बताउँछन्। गोर्खा वारियर गत शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ। यसको निर्माण र प्रिमियरमा जति खर्च भए पनि उक्त खर्च उठ्नेमा निर्माता सुमन विश्वस्त छन्।
तर लगानी नउठे पनि उनलाई चिन्ता भने छैन। नेपाली वीरताको कथा देखाउन पाएकोमा खुशी छन्। “कसरी लगानी उठाउने भन्दा पनि इतिहास कसरी राखौँ भन्ने फोकसमै हामी कुदिरहेका छौँ,” उनी भन्छन्, “अहिलेसम्मको अवस्था हेर्दा सबैले मन पराइदिनुभएको छ। अब हामी विश्वस्त पनि छौँ कि हाम्रो लगानी पनि उठ्छ।”

पहिलो पटक चलचित्र निर्माण गरेका सुमनले नेपाली चलचित्रमा धेरै जोखिम तत्त्वहरू देखेका छन्। लगानीदेखि सुटिङ गर्दासम्म जोखिम नै जोखिम रहेको उनको अनुभव छ। चलचित्र छायांकन हुँदा नायक रितेस चाम्स ठूलो दुर्घटनामा परेका थिए। सुमन गोर्खा वारियरलाई अन्तर्राष्ट्रिय चलचित्र मान्छन्। अन्तर्राष्ट्रिय बजारमा यो चलचित्रको ठूलो माग रहेकोसमेत उनको दाबी छ। नेपालबाट नभए पनि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारबाट लगानी सुरक्षित हुनेमा निर्माण पक्ष विश्वस्त छ।
“नेपाली दाजुभाइ दिदीबहिनीले मन पराउनुभएको देख्दा लगानी पनि उठ्ने देखिन्छ। व्यापार राम्रो छ,” सुमन भन्छन्। तर नाम र दाम कमाउन नभई नेपाली वीरताको इतिहास राख्न गोर्खा वारियर बनाएको र भोलिका दिनमा नेपालीको वीरगाथा बोकेका अरू पनि चलचित्र बनाउने उनको योजना छ।