लन्डन । बेलायतले ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्सका लागि नेपालबाट भर्ती आव्हान गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै बेलायती सेनाले इन्टेक २०२५ का लागि योग्य उम्मेदवारलाई छनोटमा सामेल हुन आव्हान गरेको हो ।
भर्ती हुन इच्छुक उम्मेदवारको उचाइ कम्तीमा १५८ सेमी, उमेर १ डिसेम्बर २०२४ सम्म १८ वर्ष पुगेर २१ वर्ष ननाघेको हुनुपर्नेछ ।
योग्यता कम्तीमा एसईई उत्तीर्ण वा सो सरह (कम्पार्ट पास भए पनि हुने) हुनुपर्नेछ । नयाँ एसईई ग्रेडिङ प्रणालीमा न्यूनतम पाँच वटा ‘सी ग्रेडिङ’लाई मान्यता दिइने तथा अंग्रेजी र गणितमा ‘सी ग्रेडिङ’ अनिवार्य रहेको सूचनामा उल्लेख छ ।
उम्मेदवारले अनलाइनमार्फत नाम, थर, एनपीपी नम्बर र जिल्ला दर्ता गराउनुपर्नेछ । १ मार्चदेखि २९ मार्चसम्म अनलाइन आवेदन दर्ता प्रक्रिया खुला रहनेछ।
पहिलो चरणको छनोट ब्रिटिस गोर्खा क्याम्प पोखरा र ब्रिटिस क्याम्प धरानमा २२ अप्रिलदेखि २८ जुन २०२४ सम्म र सुर्खेतमा २२ अप्रिलदेखि ३१ मेसम्म सञ्चालन गरिनेछ ।
छनोट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी हुने जनाइएको छ। भर्ती गराइदिने बहानामा कसैले पैसा मागेमा नदिन र स्थानीय प्रहरीलाई खबर गर्न बेलायती सेनाले आव्हान गरेको छ ।
गोर्खा भर्तीबारे जानकारीका लागि सामुदायिक ब्रिफिङ १ मार्चदेखि २९ मार्चसम्म नेपालभर गरिने जनाइएको छ ।
यसअघि इन्टेक २०२४ मा भर्ती भएका ३३७ गोर्खा सैनिकले हालै बेलायतमा आफ्नो इन्फेन्ट्री तालिम शुरु गरेका छन् ।