लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।
नेपालको प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा आउँदो मार्च ८ मा नारी दिवस मनाउने निर्णय भएको नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिए । कार्यक्रम साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा हुनेछ ।
कार्यक्रममा सन् २०२० की बीबीसीको प्रभावशाली महिला सूचीमा परेकी सपना रोकामगर, भूतपूर्व गोर्खा महिला सुजना थापामगर विशिष्ट अतिथि रहने छन् भने निवर्तमान सचिव, नेफिन केन्द्र तथा नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुरा प्रमुख वक्ता रहने छन् ।
कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ युके, जनजाति युवा महासंघ युके, जनजाति महिला महासंघ युके र आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ युकेसमेत आयोजक रहेका छन् ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।