लन्डन । बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाको सञ्जाल ‘नेप्लिज् युथ नेटवर्क युके’ मा नयाँ नेतृत्व चुनिएको छ ।
सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको प्रोत्साहनमा स्थापित नेटवर्कको गत फेब्रुअरी १७ मा प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न भेलाले डा. रानु बरालको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको कार्यकाल दुई वर्ष रहनेछ ।
भेलाबाट उपाध्यक्षमा अपेक्षा न्यौपाने र शिशिर गौतम, महासचिव डा. शिक्षा बराल, सचिव प्रणय रेग्मी, कोषाध्यक्ष विप्लव पौडेल तथा सदस्यहरू एलिसा अधिकारी, प्रान्जु शर्मा, आरोन थापा, स्मारिका न्यौपाने, आयुष कार्की, सम्राट न्यौपाने, वत्सल घिमिरे, प्रतोष रोका, राजस्वी हमाल र कोहिनुर शाही चुनिएका छन्।
भेला संयोजक डा. रामजी पौडेलले सञ्चालन गरेको कार्यक्रममा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले सोसाइटी र नेप्लिज् युथ नेटवर्कको परिचय तथा औचित्यमाथि प्रकाश पारेका थिए।
सोसाइटी उपाध्यक्ष गजेन कटुवालले नयाँ समितिका पदाधिकारीलाई शपथ गराएका थिए । महासचिव डा. ओमप्रसाद गौतमले बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष डा. बरालले संक्षिप्त मन्तव्य राखेकी थिइन् । संयोजक डा. पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस अवसरमा सहभागी युवा र सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् युकेबीच अन्तरक्रियासमेत गरिएको थियो ।
अन्तरक्रियामा युवाले राखेका जिज्ञासामाथि सोसाइटी अध्यक्ष ई. विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष गजेन कटुवाल, महासचिव डा. ओमप्रसाद गौतम, सदस्य डा. रामजी पौडेल, प्याट्रोन काउन्सिल सदस्य शेखर वाग्लेलगायतले प्रकाश पारेका थिए ।
बेलायतमा बसोबास गर्ने नेपाली युवाबीच संजाल विस्तार गर्ने, नेतृत्व विकास गर्ने तथा नेपाली समुदायलाई सामाजिक कार्यमा सक्रिय सहभागिता बढाउने उद्देश्यसहित सन् २०१४ मा नेटवर्क गठन भएको थियो।