लन्डन । बेलायतस्थित नेपाली दूतावासले यहाँ क्रियाशील नेपाली विशेषज्ञ तथा पेसाकर्मीसँग दुई दिने अन्तरक्रिया गरेको छ । विदेशमा हासिल गरेको सीप, ज्ञान र श्रोत नेपालको विकासमा उपयोग गर्न सघाउने उद्देश्यले शनिबार र आइतबार अन्तरक्रिया गरेको हो ।
शनिबार उद्घाटन समारोहलाई परराष्ट्रमन्त्री एनपी साउदले मा भिडियो सन्देशबाट सम्बोधन गरेका थिए । उनले नेपाली डायस्पोराले विदेशमा नेपालीको पहिचान र छविको प्रवर्धन मात्र नगरी मातृभूमि र कर्मभूमिबिच सेतुको रूपमा पनि काम गर्दै आएको बताए ।
नेपालमा वित्तीय पुँजी, ज्ञान, सीप तथा अनुभवजस्ता मानवीय पुँजीको समेत अभाव रहेकाले यसको परिपूरण गर्न विदेशमा रहेका नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबिच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध सहयोग र सहकार्यमा बिस्तार भएको बताए ।
उनले विदेशमा आर्जन गरेको ज्ञान, दक्षता र अनुभवको प्रयोग गरेर विदेशमा बस्ने नेपालीले देशलाई जोडेको बताउँदै नेपालको विकासमा उनीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले स्वास्थ्य सेवा पुग्न नसकेका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा शुरू गर्न लागेको र नेपालमा स्वास्थ्य जनशक्ति र साधन श्रोत पर्याप्त नभएको बताए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले बेलायतमा रहेका नेपाली चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राध्यापकलाई आफूसँग भएको ज्ञान र सीप नेपाली स्वास्थ्यकर्मीसँग बाँड्न आग्रह गरे । बेलायतमा कार्यरत अस्पताल व्यवस्थापन विशेषज्ञ डा. बच्चु कैलाश कैनीले नेपालमा अस्पताल व्यवस्थापनको जिम्मा चिकित्सकलाई नभएर योग्य व्यवस्थापकलाई दिन सुझाए ।
अक्सफोर्ड भ्याक्सिन समूहका डा. सोनु श्रेष्ठ तथा डा. प्रमीला रिजाल, जैविक प्रविधिसम्बन्धी अनुसन्धान कर्ता प्रज्ज्वल राजभण्डारी, वाटर एड युकेमा कार्यरत पानी तथा सरसफाइ विशेषज्ञ डा. ओमप्रसाद गौतम, शैक्षिक विकास ट्रष्टका डा. सगुन श्रेष्ठले पनि कार्यक्रममा प्रस्तुति दिएका थिए । कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन युकेका अध्यक्ष डा.औ सञ्जीव नेपाली, पूर्वअध्यक्षद्वय डा. कमल अर्याल, डा. रमेश कोजु तथा नेप्लिज नर्सेस एसोसिएसन युकेकी अध्यक्ष सुनिता गौतम थापाले आफ्नो संस्थाले गरेका कामबारे प्रकाश पारे ।
शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले विद्यालय शिक्षाको व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण भएको बताए । गत वर्ष झन्डै एक लाख २५ हजार विद्यार्थीले विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर लिएको बताउँदै नेपालको शिक्षा प्रणालीलाई रोजगारसँग जोड्न सरकारले काम गरिरहेको बताए ।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले बेलायतस्थित नेपाली प्राज्ञ तथा अनुसन्धानकर्ताले नेपाली विश्वविद्यालय र शैक्षिक संस्थासँग मिलेर सहकार्य गर्नुपर्ने बताए ।
अन्तरक्रियाको दोस्रो दिन इन्जिनियरिङ, सूचना तथा प्रविधि एवं वैज्ञानिक अनुसन्धान तथा अर्थशास्त्र वित्त एवं सम्पत्ति व्यवस्थापन विषयमा छलफल भएको थियो ।